
विराटनगर । कोसी प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाले निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थालाई नियमसंगत ढंगले कानुनी प्रक्रिया अपनाएर सञ्चालन हुन निर्देशन दिएको छ । अस्पताल तथा स्वास्थ्य संस्थाको नियमन र व्यवस्थापनलाई कडाइ गर्ने तयारी गरिरहेको महाशाखाले दर्तालगायत सबै प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।
महाशाखाद्वारा जारी सूचनामा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था, सामुदायिक तथा सहकारी स्वामित्वमा रहेका अस्पतालमा सेवा प्रवाह, गुणस्तर, दररेट र जनशक्ति व्यवस्थापनमा लापरबाही बढेको उल्लेख छ । त्यसको रोकथाम तथा व्यवस्थापन गर्न आवश्यक निर्देशन दिइएको छ ।
स्वास्थ्य संस्थाले अब सेवा सञ्चालन गर्नुअघि मन्त्रालयबाट लिखित स्वीकृति लिनुपर्ने निर्देशन छ । कुनै पनि सेवा (स्वास्थ्य परीक्षण, सर्जरी, इमर्जेन्सी, विशेषज्ञ सेवा) सञ्चालन गर्नुअघि सम्बन्धित मन्त्रालय वा निकायको पूर्वस्वीकृति आवश्यक हुने जनाइएको छ ।
स्वास्थ्य संस्था सञ्चालन गर्नुअघि लिखित स्वीकृति अनिवार्य लिन, स्वीकृति नलिई सञ्चालन गरिएको स्वास्थ्य संस्था तथा सेवा तत्काल बन्द गर्न, सेवा दररेट र शुल्क प्रदेश सरकारले स्वीकृत गरेअनुसार मात्र निर्धारण गर्न, सार्वजनिक स्वास्थ्य सेवाका कर्मचारीलाई अन्यत्र खटाउने कार्य मन्त्रालय वा निकायको पूर्वस्वीकृतिबिना नगर्न, जनशक्ति व्यवस्थापनमा नेपाल सरकार तथा प्रदेश सरकारले तोकेको न्यूनतम मापदण्ड पालना गर्न भनिएको छ ।
स्वास्थ्य प्रशासक डा. रामहरि खड्काद्वारा हस्ताक्षरित पत्रमा स्वास्थ्य सेवाको गुणस्तर निश्चित गर्न तथा जनताको पहुँचयोग्य र प्रभावकारी सेवा प्रवाह गराउन नियमन अपरिहार्य भएको उल्लेख छ ।