
काठमाडौं । नेपाल पुलिस क्लबले एन्फा यू–१६ युथ लिगमा छैटौँ जित निकालेको छ । पुलिसले सोमबार लिगअन्तर्गत आफ्नो सातौँ खेलमा मछिन्द्र क्लबलाई २–० ले पराजित गरेको हो ।
जितसँगै लिगमा पुलिसले अपराजित यात्रा कायमै राखेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको पुलिसले लिगमा सात खेल खेल्दा ६ जित र एक बराबरीबाट १९ अंक बनाएको हो ।
पुलिसलाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा जित दिलाउन टोलीका समीर कुमार निर्णायक बने । समीरले गरेको दुई गोललाई अन्तिम समयसम्म जोगाउँदै पुलिसले जित हात पारेको हो । उनले दुवै गोल पहिलो हाफमा गरेका थिए ।
खेलको नवौँ मिनेटमा समीरले पुलिसलाई अग्रता दिलाए । १९औँ मिनेटमा समीरले अग्रतालाई दोब्बर बनाए ।
पुलिसले अब आठौँ खेलमा सातौँ जितको लागि चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ । खेल आउँदो बुधबार (साउन ७ गते) दिउँसो ४ बजे हुने तालिका छ ।
पराजित मछिन्द्रले भने आठौँ खेलमा संकटा क्लबसँग खेल्नेछ । खेल आउँदो बिहीबार (साउन ८ गते) दिउँसो १ बजे हुनेछ ।