site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कानुनमन्त्री राखेर सभामुखले गरे रास्वपा र राप्रपासँग छलफल, के भयो संवाद ?

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूसँग छलफल गरेका छन् । संसद्को गतिरोध हटाउने विषयमा आज सभामुख घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाको सहभागितामा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका हुन् ।

छलफलमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ उपस्थित थिए ।

सभामुख घिमिरले संसद् चलाउने वातावरण बनाउन आग्रह गरेका थिए । "संसद् चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु । तपाईंहरूको सैद्धान्तिक, राजनीतिक र मुद्दाहरूप्रति मेरो भन्नु केही छैन । तर, संसदीय गतिविधि प्रभावित भएको छ," उनले भने ।

कानुनमन्त्री चौरसियाले सरकारले छानबिन समिति बनाएर काम थालिसकेको बताएका थिए । उनले रास्वपा र राप्रपाका नेताहरूलाई लचिलो बन्न आग्रह गरेका थिए ।

"सरकारले विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा छैन । रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिनै रहेको छ । एउटा सहमतिको बिन्दुमा पुग्न तपाईंहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ," उनले भने ।

जवाफमा रास्वपाका कार्यवाहक सभापति अर्यालले आफूहरूले उठाएका मुद्दा गम्भीर रहेको तर सरकारले बेवास्ता गरेको बताए ।

"सभामुखले सहमतिका लागि निरन्तर पहल गर्नुभएको छ । धेरै बैठक सहमतिका लागि नै स्थगित पनि गर्नुभयो । तर, हामीले उठाएका मुद्दा धेरै गम्भीर छन् । यति गम्भीर मुद्दा सम्बोधन गर्न सरकारले उल्टै तदारुकता देखाउनुपर्नेमा गैरजिम्मेवारी देखाएको छ," उनले भने । 

राप्रपाका उपाध्यक्ष तामाङले आफूहरूसँग सहमति नभएसम्म पछाडि नहट्ने बताए । "भिजिट भिसा प्रकरणमा हामीले मुद्दा उठान गरिसकेका छौँ । तर, विपक्षी दलबिना सहमति फर्कन सक्ने अवस्थामा छैनन् । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । बैरागी छानबिन समितिले के काम गरेको छ भनेर समेत संसदलाई जानकारी दिएको छैन," उनले भने ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्