site stats
बाह्रखरी :: Baahrakhari
खेल
आदर्श मेचे चम्कँदा जावलाखेलविरुद्ध एपीएफको फराकिलो जित

काठमाडौं । आदर्श मेचे चम्कँदा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले एन्फा यू–१६ युथ लिगमा जावलाखेल युथ क्लबविरुद्ध फराकिलो जित निकालेको छ । 

एपीएफले मंगलबार लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा जावलाखेलविरुद्ध ५–० को जित निकालेको हो ।

एपीएफको जितमा आदर्शले ‘ह्याट्रिक’ प्रहार गरे । सुशान्त गौतम र असिम खड्काले समान एक गोल गरे । खेलको १९औँ मिनेटमा आदर्शले एपीएफलाई अग्रता दिलाए । ४५औँ मिनेटमा असिमले अग्रतालाई दोब्बर बनाए । ५५औँ मिनेटमा आदर्शले दोहोरो गोल गरेपछि एपीएफले ३–० को अग्रता बनायो । 

८३औँ मिनेटमा आदर्शले ‘ह्याट्रिक’ प्रहार गर्दै अग्रतालाई ४–० को अवस्थामा पुर्‍याए । खेलको इन्जुरी समयमा सुशान्तले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । 

जितसँगै लिगमा एपीएफले १२ अंक जोडेको छ । एपीएफले सात खेल खेल्दा चार जित र तीन हारबाट १२ अंक बनाएको हो । उसले अब आठौँ खेलमा न्युरोड टिम (एनआरटी)को सामना गर्नेछ । खेल आउँदो बिहीबार बिहान १० बजे हुनेछ । 

पराजित जावलाखेलले भने आठौँ खेलमा प्लानिङ ब्वाइज युनाइटेडसँग खेल्नेछ । खेल आउँदो बिहीबार दिउँसो ४ बजे हुनेछ । 

 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्