
काठमाडौं । प्रहरीले दुई किलो सुन र २४ लाख रुपैयाँ नगदसहित पक्राउ परेका दुवैजना चिनियाँ नागरिकलाई राजस्व अनुसन्धान विभागमा पठाएको छ । मंगलबार दिउँसो ठमेलबाट पक्राउ परेका चिनियाँ नागरिक चुनलिङ जी र समेचुङलाई प्रारम्भिक अनुसन्धानपछि ललितपुरस्थित राजस्व अनुसन्धान विभाग पठाइएको हो ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार, उनीहरू एक महिनाअघि भिजिट भिसामा नेपाल आएर ठमेलमा बसेका थिए । सुन तस्करीबारे भने उनीहरूले केही खुलाउन चाहेका छैनन् ।
‘‘दुवैजना चिनियाँ एक महिनाअघि ठमेलमा बसेको देखिन्छ । उनीहरू मुख्यतः सुन बिक्री गर्ने उद्देश्यले नै बसेको खुलेको छ,’’ उनले भने ।
प्रहरीको अनुसन्धानका क्रममा उनीहरू यसअघिसमेत नेपाल आएको खुलेको छ । एक वर्षअघि नेपाल आएर लामो समय बसेर फर्केको पाइएको छ ।
प्रहरी स्रोतका अनुसार, अनुसन्धानबाट उनीहरूको साथबाट बरामद गरिएको सुन डलरमा बिक्री गर्न खोजिरहेको खुलेको छ ।
सुन विमानस्थलको बाटो नभई स्थलमार्ग हुँदै नेपाल भित्रिएको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । ‘‘स्थलमार्ग हुँदै आएको सुन उनीहरूले रिसिभ गरेर डलरमा बिक्री गर्ने गरेको खुलेको छ, ती अधिकारीले भने ।
उनीहरूलाई पक्राउ गर्न प्रहरीको विशेष टोली आफैँ ग्राहक बनेको थियो । सुन खरिद गर्ने बताएर प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।