
काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोकेको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दुईदिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन उचित नहुने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा तीन नेताले असहमति जनाएका थिए । तर, प्रस्ताव बहुमतले पारित भएको प्रचार विभाग प्रमुख गौतमले बताए ।
“अध्यक्ष केपी शर्मा ओलीज्यूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाउनुभयो,” प्रचार विभाग प्रमुख गौतमले भने ।
एमालेले भण्डारीलाई पूर्वराष्ट्रपतिकै हैसियत सम्मान गर्ने बैठकको निर्णय छ । “पूर्वराष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, देशको अभिभावक हो,” गौतमले भने, “यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने केन्द्रीय कमिटीले निष्कर्ष निकालेको छ ।”
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि सो विषयमा बहस सुरु भएको थियो । केन्द्रीय कमिटीको बैठकले त्यसलाई टुंग्याउँदै आगामी अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्षमा निरन्तरता दिने निश्चित जस्तै गरेको छ ।
बैठकले ७० वर्षको उमेरहद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुला गरिदिएको छ । यो निर्णयले आगामी भदौमा हुने विधान अधिवेशनले पास गरेपछि वैधता पाउने छ ।
एमालेको यो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द भएको छ । भण्डारीले मंगलबार दिउँसो आफ्नो निवास भंगालमा भेटिएका पत्रकारलाई उनले भनेकी थिइन्, “म त्यो परिकल्पना पनि गर्न सक्दिनँ, तपाईंहरूले त्यस्तो निर्णय लेख्नु पनि पर्दैन ।” भण्डारी ढुक्क देखिएकी थिइन् ।
तर, एमालेको मंगलबार राति सकिएको बैठकले भण्डारीलाई जसरी भए पनि सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेको हो ।
तीन नेताको असहमति
एमाले उपाध्यक्ष युवराज ज्ञवाली, अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले निर्णयबारे असहमति जनाउँदै फरक मत राखे ।
ज्ञवालीले भण्डारीलाई सक्रिय राजनीतिमा आउनबाट रोक्ने निर्णय अहिले नै नरोक्ने प्रस्ताव गरेका थिए । “अहिले निर्णय नगरौँ, हतार नगरौँ, सचिवालय बैठकबाट निर्णय गर्न सकिन्छ,” ज्ञवालीले बैठकमा भनेका थिए ।
अर्का उपाध्यक्ष पाण्डेले भण्डारीलाई राजनीतिमा आउन रोक्ने निर्णय नगर्न आग्रह गरेका थिए । “यस्तो निर्णय नगरौँ, यसले पार्टीलाई राम्रो गर्दैन । पार्टीमा अझै छलफल, सल्लाह गरौँ,” पाण्डेले बैठकमा भनेका थिए ।
बैठकमा स्थायी कमिटी सदस्य थापाले बोल्न समय मागेका थिए । तर, ओलीले रोकेका थिए । थापाले लिखित रूपमा मत राख्ने बताए ।