site stats
बाह्रखरी :: Baahrakhari
खेल
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान

काठमाडौं । एसियाली खेलकुदकी रजत विजेता कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अञ्जना राना मगर मंगलबार भक्तपुरको मध्यपुरमा नगदसहित सम्मानित भएका छन् ।

कराते वान प्रिमियर लिगमा कांस्य, थाइल्यान्ड ओपन र यूएस ओपनमा स्वर्ण तथा एसियन च्याम्पियनसिपमा रजत जितेकी कराते स्टार एरिका र फुटबलकी सनसनी अञ्जनालाई मध्यपुरस्थित इनर ह्विल क्लबले २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

नेपाली खेलकुदमा उल्लेखनीय योगदान गरेबापत दुवै खेलाडीलाई डा. सृष्टि उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

क्लबकी संस्थापक तथा इनर ह्विल डिस्ट्रिक्ट ३५० की उपाध्यक्ष डा. सृष्टी श्रेष्ठ प्रजापतीले खेलाडीलाई सम्मान गर्दै खेलकुदमा महिलाको सहभागिता र सफलतालाई सम्मान गर्न पाउनु आफ्नै लागि पनि गौरवको विषय रहेको बताइन् । 

सम्मानित दुवै खेलाडीले निजी स्तरबाट हुने यस्ता सम्मानले आफूहरूलाई देशका लागि अझ समर्पित भएर खेल्न ऊर्जा मिल्ने बताउँदै आयोजकलाई धन्यवाद दिए ।
 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्