site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सामाजिक सुरक्षा कोषमा जम्मा हुने योगदानकर्ताको ५३ प्रतिशत रकम मुद्दतीमा, अरू कहाँ जान्छ ?

काठमाडौं । सामाजिक सुरक्षा कोषमा साउन ६ गतेसम्म योगदानकर्ताबाट कुल ८३ अर्ब ९३ करोड रुपैयाँ जम्मा भएको छ । उक्त रकम सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ अनुसार विभिन्न वित्तीय औजारमा लगानी गरेर ब्याजसहित एक खर्ब १६ अर्ब ८६ करोड ६७ लाख रुपैयाँ पुगेको छ । 

कोषले यो रकम कार्यविधिअनुसार मुद्दती निक्षेप, म्युअल फन्ड, ऋणपत्र, राष्ट्र ट्रेजरी बिल, राष्ट्र बैंकबाट जारी विकास ऋणपत्र र योगदानकर्तालाई सापटी दिएको छ । 

जसमा सबैभन्दा बढी मुद्दतीमा राखिएको छ । कुल रकमको ५३ प्रतिशत अर्थात् ६२ अर्ब ४१ करोड ६ लाख २२ हजार रुपैयाँ कोषले मुद्दती निक्षेपमा राखेर ब्याज लिइरहेको छ । त्यसपछि राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिलमा २६ प्रतिशत अर्थात् ३० अर्ब ४८ करोड ४० लाख ८३ हजार रुपैयाँ लगानी गरेको छ । विकास ऋणपत्रमा ११ अर्ब ९३ करोड ८८ लाख रुपैयाँ अर्थात् कुल रकमको १० प्रतिशत र योगदानकर्तालाई कुल रकमको ६ प्रतिशत अर्थात् ६ अर्ब ८१ करोड ७६ लाख रुपैयाँ सापटी दिएको छ । 

ऋणपत्र र सेयरमा भने पाँच अर्ब २१ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । कोषका अनुसार, ऋणपत्रमा कुल रकमको चार प्रतिशत र म्युचुअल फन्डमा एक प्रतिशत लगानी गरिएको छ । 

आगामी दिनमा प्रतिफल दिने क्षेत्रमा लगानी विस्तार गर्ने गरी काम गरिरहेको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बताए । 

उनका अनुसार, कार्यविधिमा भएको हालको व्यवस्थालाई केही परिमार्जन गरी आगामी दिनमा कोषको रकमलाई विभिन्न परियोजनामा लगानी गर्ने योजना बनिरहेको छ । “हाल हामीले कार्यविधिअनुसार सरकारी ऋणपत्र, मुद्दती निक्षेप, म्युचुअल फन्ड, ऋणपत्र र स्थिर सम्पत्तिमा लगानी गरिरहेका छौँ,” उनले भने । 

यसका साथै, कोषले ३६ महिना नियमित योगदान गर्ने योगदानकर्तालाई घरसापटी, विशेष सापटी र घरखरिद सापटी पनि दिँदै आएको छ । 

आगामी दिनमा विभिन्न क्षेत्रमा लगानी विस्तार गर्नेगरी योजना बनाएको कोषका निर्देशक तथा सूचना अधिकारी डा. रोशन कोजु बताउँछन् । हाल हाइड्रोपावरमा लगानी गर्नका लागि सम्भाव्यता अध्ययन भइरहेको उनी बताउँछन् । “हाइड्रोपावरमा पनि लगानी गर्ने गरी हाम्रो टिमले अध्ययन गरिरहेको छ । लगानी गर्ने कुरा संवेदनशील हुन्छ । यो योगदानकर्ताको पैसा हो,” उनले भने । 

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत हालसम्म एक लाख १० हजार ६९६ योगदानकर्तालाई दुई अर्ब १५ करोड रुपैयाँ भुक्तानी गरेको छ । दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत पाँच हजार ९३३ योगदानकर्तालाई २० करोड, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ७४५ जनालाई २६ करोड रुपैयाँ भुक्तानी कोषले गरेको छ । त्यस्तै, वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत एक लाख १२ हजार ८६८ योगदानकर्तालाई १३ अर्ब १३ करोड रुपैयाँ भुक्तानी भएको कोषले जनाएको छ । 

आर्थिक वर्ष २०८१/८२ मा थप तीन लाख ६२ हजार वटा दाबी भुक्तानीमार्फत पाँँच अर्ब ८७ करोड रकमसहित कुल सात लाख ५६ हजार वटा दाबी भुक्तानीमार्फत हालसम्म कुल १५ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी गरिएको कोषको भनाइ छ । 

योगदानकर्ता सापटीअन्तर्गत विशेष सापटी ३४ हजार २० योगदानकर्तालाई ६ अर्ब ९० करोड, घर सापटी ६७ योगदानकर्तालाई १३ करोड र शैक्षिक सापटी १० योगदानकर्तालाई एक करोड गरी कुल ३४ हजार ९७ योगदानकर्तालाई सात अर्ब चार करोड भुक्तानी भएको जानकारी दिइएको छ ।

कोषको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन यसै आर्थिक वर्ष २०८१/८२ मा थप २४ वटासहित कुल १०७ वटा स्वास्थ्य संस्थासँग स्वचालित प्रणाली जडान भई सेवा प्रवाह भइरहेको छ । वैदेशिक रोजगारी तथा स्वरोजगारीमा रहेका व्यक्तिहरूको कोषमा योगदान रकम संकलन कार्यलाई थप सहज बनाउन १२ वटा वित्तीय संस्थासँग आवश्यक सहकार्यको लागि सम्झौता गरिएको छ ।

औपचारिक क्षेत्रका श्रमिकहरूको लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको संशोधन स्वीकृत भई योगदानकर्ताको परिवारमा स्वास्थ्य सेवा विस्तार भएर कार्यान्वयनमा आइसकेको छ । 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्