site stats
बाह्रखरी :: Baahrakhari
देश
हर्क साम्पाङको विवादास्पद पत्र : स्वास्थ्य मन्त्रालयलाई असभ्य भाषा लेख्दै जग्गा फिर्ताको माग
फाइल तस्बिर ।

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगर अस्पताल निर्माण गर्न भन्दै छाताचोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता गर्न संघीय स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका छन् । तर, उक्त पत्रको भाषा शैली अनौपचारिक र मर्यादाहीन रहेको भन्दै आलोचना भइरहेको छ ।

पत्रमा साम्पाङले लेखेका छन्, “छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलंगारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन, यसरी नगरपालिकाको जग्गा लैजान पाइँदैन । प्लिज फिर्ता गरिदिनु होला । धन्यवाद ।”

उक्त पत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत गरिएको छ । 

यसप्रति बीपी प्रतिष्ठानले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । प्रतिष्ठानले मेयर साम्पाङको भाषा असंवैधानिक रहेको बताएको छ । साथै, सो जग्गा ऐनअनुसार नै प्रतिष्ठानको स्वामित्वमा रहेको स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, “धरान छाताचोकस्थित पुरानो अस्पताल तथा बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान आम धरानबासीको सम्पत्ति हो । २०४८ असोज ४ गते तत्कालीन सरकारको निर्णयअनुसार सो १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी गरिएको हो ।”

धरानमा प्रतिष्ठानबाहेक सरकारी अस्पताल नहुँदा केहीअघि स्वास्थ्य बिमा बोर्डले प्रतिष्ठानलाई पहिलो सेवा विन्दुबाट हटाएको थियो । स्थानीयको दबाबपछि असोजसम्मका लागि पुनः तोकिएको छ । 

patra-1753276958.jpg
 

 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्