site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१० वाणिज्य बैंकको ‘ऋण पोर्टफोलियो’ समीक्षा गर्न बंगलादेशको हाउलदार युनुस छनोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न १० वाणिज्य बैंकहरूको विस्तृत सम्पत्ति गुणस्तर (ऋण पोर्टफोलियो समीक्षा) गर्न एक विदेशी कम्पनी छनोट गरेको छ । बंगलादेशको लेखापरीक्षण संस्था हाउलदार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स प्राविधिक र वित्तीय प्रस्तावहरूको संयुक्त मूल्यांकनमा उच्चतम अंक प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ । 

हाउलदार युनुसले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र दुई लाख ७१ हजार ६७० डलर प्रस्ताव गरेको छ । सार्वजनिक खरिद ऐनबमोजिम हाउलदार युनिस कम्पनी छनोट भएको राष्ट्र बैंकले जनाएको छ । 

कम्पनीलाई बुधबार आशयपत्र दिएको राष्ट्र बैंकका प्रवत्ता किरण पण्डितले बताए । उनले सात दिनपछि सम्झौता हुने जानकारी दिए । 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले १० विस्तारित कर्जा सुविधा दिँदा विभिन्न १० वाणिज्य बैंकको विस्तृत सम्पत्ति गुणस्तर परीक्षण गर्नुपर्ने सर्त राखेको थियो । सोही सर्तअनुसार केन्द्रीय बैंकले परामर्शदाता कम्पनी छनोट गरेको हो । त्यसबेला आईएमएफले २८ करोड २४ लाख २० हजार अमेरिकी डलर विस्तारित कर्जा सुविधा प्रदान गर्ने क्रममा उक्त सर्त राखेको थियो । उसले विस्तारित कर्जा सुविधाअन्तर्गत पाँच किस्ताको भुक्तानी दिइसकेको छ । आठ करोड ७० लाख ९० हजार डलर विस्तार कर्जा भुक्तानी दिन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले हाउलादार युनुस छनोट गरेर असारदेखि विस्तृत सम्पत्ति गुणस्तर परीक्षणमा जाने तयारी गरेको थियो । तर, अर्को बोलपत्रदाता मेहेरा–जेकेएसएस–एसएसबीडीआई ज्वाइन्ट भेन्चरले असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि राष्ट्र बैंकले प्रक्रिया अघि बढाएको हो । विभिन्न १० बैंकको सम्पत्तिको गुणस्तर कमजोर देखिएपछि लेखापरीक्षण प्रक्रिया अघि बढाएको हो । 

यद्यपि, बैंकको नाम भने खुलाएको छैन । आईएमएफले नेपालका बैंकहरूले कर्जाको इभर ग्रिनिङ गरेको आरोप लगाउँदै आएको थियो । सोही आधारमा चालुपुँजी कर्जा मार्गदर्शन लागु गर्न आईएमएमएफले दबाब दिएको थियो ।  

पछिल्ला वर्ष नेपालको बैंकिङ प्रणालीमा खराब कर्जाको अंश बढ्दै गएपछि वित्तीय क्षेत्र जोखिमतिर उन्मुख भएको छ । खराब कर्जा बढेर पाँच प्रतिशतमाथि पुगेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्