site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विष्णु पौडेलको कटाक्ष : पार्टी विभाजन गर्न खोज्नेहरूको सपनामाथि तुषारापात भयो

बुटवल । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरूको सपनामाथि तुषारापात भएको बताएका छन् । गृहजिल्ला रुपन्देहीमा आएर पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने बाटो बन्द भएसँगै यस्तो बताएका हुन् । 

मुलुकको सर्वोच्च संस्थामा आसिन भैसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले निर्णय गरेपछि विभाजन चाहनेहरूको सपना तुहिएको उनले बताए ।

पुष्पलाल स्मृति दिवसको अवसरमा एमालेले बुधबार बुटवलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष समेत रहेका पौडेलले यस्तो बताएका हुन् ।

“एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरूले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोसिस गरिरहेका थिए, तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरूको सपनामाथि तुषारापात भएको छ,” पौडेलले भने,“पार्टीभित्र अस्थिरता मच्चाउने र विभाजनको कोसिस गर्ने तत्वहरू विफल भएको छ ।”

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया नमिलेको उनको भनाइ थियो । “सदस्यता त्यागेको व्यक्तिको नवीकरण हुने होइन, नयाँ प्रक्रियाबाट जानुपर्छ । उहाँको सदस्यता स्थगित होइन, परित्याग हो । जुन चिज कायम छैन, त्यसको नवीकरण हुँदैन भन्ने प्रष्ट हुनुपर्छ,” पौडेलले भने । 

एमाले कमजोर बनाएर, विग्रह ल्याएर रमाउन खोज्नेहरू विगतदेखि नै साइड लागेको उनको भनाइ छ । उनले भने, “एमालेको आन्तरिक जीवन व्यवस्थित बनाउने काम हामी आफैँले गर्नुपर्छ, अरुले सरोकार राख्न जरुरी छैन ।” 

केन्द्रीय कमिटीले विधान संशोधनका लागि प्रस्तावित मस्यौदा पारित गरिसकेकाले सबैको सुझाव समेटिने भन्दै छिटो सुझाव दिन उनले आग्रह समेत गरे ।

अर्थमन्त्री पौडेलले चौतर्फी हमलाका बाजुद पनि सरकार आफ्नो मिसनमा अगाडि बढिरहेको पनि बताए । 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्