site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भोकमरीले गाजावासी थलिँदै गएको सयभन्दा बढी समूहहरूको चेतावनी

काठमाडौं । एक सयभन्दा बढी अन्तर्राष्ट्रिय सहायता संगठनहरू र मानव अधिकार समूहहरूले गाजामा ठूलो मात्रामा भोकमरीको चेतावनी दिँदै सरकारलाई कारबाहीको दबाब दिएका छन् । 

मेडिसिन्स साइन्स फ्रन्टियर्स (एमएसएफ), सेभ द चिल्ड्रेन र अक्सफामलगायत सहायता संगठनहरूले संयुक्त वक्तव्यमा हस्ताक्षर गर्दै उनीहरूका सहकर्मीहरू र उनीहरूले सेवा गर्ने मानिसहरू कमजोर बन्दै गएको बताएका छन् ।

गाजाका सबै क्षेत्रमा आपूर्तिहरूको प्रवेशलाई नियन्त्रण गर्ने इजरायलले भने ती संगठनहरूको वक्तव्यलाई अस्वीकार गरेको छ । उसले उनीहरूलाई हमासको पक्षमा प्रचार र प्रोपोगान्डा गरेको आरोप लगाएको छ ।

एक सयभन्दा बढी अन्तर्राष्ट्रिय सहायता संगठनहरू र मानव अधिकार समूहहरूको यो चेतावनी गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कुपोषणका कारण थप १० प्यालेस्टाइनीहरूको मृत्यु भएको बताएसँगै आएको हो ।
 
मन्त्रालयका अनुसार आइतबारदेखि गाजामा यस्ता मृत्युको संख्या ४३ पुगेको छ ।

संयुक्त राष्ट्रसंघले अस्पतालहरूमा खानाको अभावका कारण गम्भीर थकानको अवस्थामा मानिसहरू भर्ना भएको र अन्य सडकमा लडिरहेको जनाएको छ । बीबीसी

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्