site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नाइमामा के–के आउँदैछन् नयाँ सवारी ?

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा अर्को ठूलो उत्सवको तयारी तीव्र गतिमा हुँदै छ । 

यही साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले पहिलो पटक आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को मिति नजिकिँदै जाँदा ग्राहक र अटोप्रेमीहरूबीच चासो र कौतूहल चुलिँदै गएको छ ।

नेपाली अटो बजारमा पछिल्ला केही वर्षयता विद्युतीय गाडीप्रति चासो तीव्र रूपमा बढिरहेको छ । गत वर्षको तुलनामा विद्युतीय सवारीको बिक्री ५० प्रतिशतभन्दा बढीले बढेको पाइएको छ । त्यसमाथि, सरकारले आयात शुल्क र कर छुटमा दिएको सहुलियतले पनि यो सेग्मेन्टमा माग बढेको हो ।

यो नेपालमै विद्युतीय र दिगो सवारी साधनलाई प्राथमिकतामा राख्दै गरिने खालको पहिलो ठूलो प्रदर्शनी हो । अटो शो प्लानिङ कमिटी प्रमुख शिरिष मुरराकाका अनुसार ५० ब्रान्डले एक्स्पोमा सहभागिता जनाउने छन् । तर, त्यसबाहेक सार्वजनिक हुने सवारीका मोडेल र विशेषताबारे भने मुरारकाले औपचारिक रूपमा केही खुलासा गरेनन् ।

shirish-murarka-1752983860.jpg
 

यद्यपि, केही ब्रान्डहरूले भने आफूले ल्याउने सवारीबारे पहिले नै केही जानकारी दिएका छन् । तीमध्ये जेइकोको जे–५, बी–१० एसयूभी र एलईभी–एक्स जस्ता नयाँ सवारी एक्स्पो देख्न पाइने छ । यी तीनवटै मोडेल अन्तर्राष्ट्रिय बजारमा पहिले नै चर्चा बटुलेका विद्युतीय गाडी हुन् । नेपालका ग्राहकका लागि नयाँ अनुभव दिने अपेक्षा गरिएको छ । त्यसो त, एक्स्पो अन्य ब्रान्डले के कस्तो सवारी सार्वजनिक गर्छन् हेर्न बाँकी छ । यद्यपि यसअघि नै नाइमामा सार्वजनिकको तयारीमा रहेका केही ब्रान्ड र सवारीको यहाँ चर्चा गरिन्छ ।

जेइको जे–५ 

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा सार्वजनिक हुने सवारी हो, जेइको जे–५ । पूर्ण विद्युतीय प्रिमियम एसयूभी जेइको जे–५ लाई नाइमा एक्स्पोमा एसपीजी अटोमोबाइल्स प्रा.लि. ले सार्वजनिकको तयारी गरेको छ । 
यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा ई–५ र जेइको जे–६ इभी लाइनअपसँगै नयाँ जेइको जे–५ ले बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिसहित नेपाली बजारमा डेब्यु गर्न लागेको हो ।

jaecoo-j5-4-pzi5-1753326726.jpg
 

यस सवारी एडभेन्चरस यात्राका लागि डिजाइन गरिएको छ । जेइको जे–५ मा आरामदायी सुविधासँगै अल–रोड–रेडि रगेड बनावट र डिजाइनको संयोजन गरिएको छ । यसको शार्प एंगुलर डिजाइन ‘रेन्ज रोभर’को डिजाइनसँग तुलनायोग्य छ । साथै, यसमा लेभल २ एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमै उत्कृष्ट इन्कोर्पोरेट गरिएको प्यानोरामिक सनरुफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामेरा र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्चस्तरीय सुविधाहरू छन् । यसलाई सहरी यात्रा र हल्का अफ–रोड दुवैका लागि उपयुक्त बनाउँछ ।

जे–५ को भित्री भाग पनि अत्यन्तै फराकिलो र सुविधासम्पन्न छ । यसमा कनेक्टेड कार टेक्नोलोजी भएको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्स्ट्रुमेन्ट क्लस्टर, १३२० मिलिमिटर चौडा दोस्रो पंक्तिको सिट, २५६–कलर एम्बियन्स लाइटिङ, ४८० लिटरको ट्रंक स्पेस र ३६ वटा इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्ट राखिएको छ । यसको लम्बाइ ४३८० मिलिमिटर, चौडाइ १८६० मिलिमिटर र उचाइ १६५० मिलिमिटर छ भने १८–इन्चको एलोय ह्विल्स जडान गरिएको छ ।

१५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवरको ब्याट्री प्याकबाट सञ्चालित यस एसयूभीले एकपटक चार्जमा ४०२ किलोमिटरको डब्लूएलटीपी सर्टिफाइड रेन्ज प्रदान गर्छ । चालक र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यसमा लेभल २ एडासअन्तर्गत फरवार्ड कोलिजन वार्निङ, ब्लाइन्ड स्पट मनिटरिङ, इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सी ब्रेकिङ र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा फिचर राखिएका छन् ।

नाइमा २०२५ मा जेइको जे–५ सार्वजनिक गर्दै कम्पनीले नेपालको इभी बजारमा आफ्नो उपस्थिति अझ बलियो बनाउने लक्ष्य लिएको जनाएको छ । पर्फमेन्स, प्रविधि र लक्जरीसँगै आउटडोर एडभेन्चरका लागि उपयुक्त रगेड डिजाइनका साथ, जेइको जे–५ ले नेपाली ग्राहकहरूका लागि उत्कृष्ट आधुनिक इलेक्ट्रिक एसयूभीको परिचय दिन तयार भएको कम्पनीले बताएको छ ।

बी–१० एसयूभी 

नाइमा एक्स्पोको छेको पारेर नेपालमा सार्वजनिक हुने अर्को सवारी हो लिप मोटरको बी–१० एसयुभी । नेपालमा सार्वजनिक गर्न उक्त गाडी चीनबाट नेपालतर्फ प्रथान गरिसकेको कम्पनीले जनाएको छ । नेपालका लागि लिपमोटरको आधिकारिक आयातकर्ता सांग्रिला मोटर्सले उक्त गाडी नाइमा अटो एक्स्पोमा सार्वजनिक हुने जनाएको छ ।

b10suv-1753326726.jpg
 

लिपमोटर बी–१० पहिलोपटक आगामी नाइमा अटो शो–२०२५ मा सार्वजनिक गरिनेछ । सांग्रिला मोटर्सका अनुसार, यो गाडीले नेपालमा दिगो र अत्याधुनिक विद्युतीय सवारी समाधान ल्याउने विश्वास कम्पनीको छ ।

गोल्छा अर्गनाइजेसनअन्तर्गतको सांग्रिला मोटर्सले सन् २०१७ देखि प्यूजो, २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटर ब्रान्डका गाडी नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले ग्राहकका बदलिँदो आवश्यकता र प्रवृत्तिलाई मध्यनजर गर्दै नयाँ, स्टाइलिस र वातावरणमैत्री सवारी–साधन उपलब्ध गराउने लक्ष्य अघि सारेको जनाएको छ ।

लिपमोटर बी–१० को आगमनबारे सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक जय गोल्छाले भने, “हामी लिपमोटर बी–१० नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौँ । यसले नेपाली ग्राहकलाई अत्याधुनिक विद्युतीय प्रविधिको नयाँ अनुभव दिलाउनेछ र नेपाली बजारमा ईभीप्रतिको धारणा परिवर्तन गर्ने विश्वास छ । नाइमा अटो शोमा यसको औपचारिक उद्घाटन गर्न हामी आतुर छौँ ।”

एलईभी–एक्स र एलईभी–०५ 

एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले दुई नयाँ मोडेल सार्वजनिकको तयारी गरेको छ । नेक्सन भेन्चरले ‘एलईभी ०५’ र ‘एलईभी एक्स’ गरी दुई नयाँ मोडेल सार्वजनिकको तयारीमा छ । 

एलईभी–०५ प्रिमियम ह्याचब्याक सेग्मेन्टको इलेक्ट्रिक कार रहेको कम्पनीको दाबी छ । यसको लम्बाइ चार हजार २ सय एमएम, एक हजार ७७० एमएम चौडाइ र एक हजार६१० एमएम उचाइ छ । यो कारमा दुई हजार ६५० एमएम लामो ह्विलबेस छ ।

१७ इन्चको एलोय ह्विल रहेको एलईभी–०५ मा १७५ एमएम ग्राउन्ड क्लियरेन्स छ । एलईभी–०५ लाई कम्पनीले ५० किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटरमा ल्याउने छ । यसको अधिकतम टर्क १८० न्युटन मिटर छ ।

यो कारमा सेग्मेन्ट फस्र्ट सबैभन्दा ठूलो साइजको ब्याट्रीप्याक छ । एलईभी–०५ मा ५६ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ । जसले सिंगल चार्जमा ४ सय किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ । यो कारलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिन्छ ।

LEV-X-interior--1753326729.jpg
 

यस्तै एलअटोले सार्वजनिक गर्न लागेको अर्को गाडी हो, एलईभी एक्स । क्रसओभर एसयूभी डिजाइनको इभी यसअघि नै नेपाली बजारमा बिक्री भइरहेको एलईभी–०१ को फोर ह्विल ड्राइभ भर्सन हो । एलईभी एक्समा मोटर पावरका साथै केही फिचर थप भएर आउने कम्पनीले जनाएको छ ।

एलईभी एक्समा फ्रन्ट र रियर गरी २०० किलोवाटको मोटर रहने छ । यसमा ७७ किलोवाट आवरको ठूलो साइजको ब्याट्रीप्याक रहने छ । एलईभी एक्सको ड्यासबोर्डमा नयाँ डिजाइनको एसी भेन्ट आएकोे छ । साथै, यसको फ्रन्टमा हाइड्रोलिक बोनेट र थप लगेज स्टोरेजका लागि फ्रङ्स समेत थपिएको छ ।

यी सबै मोडेलले नेपाली बजारमा मूल्य र सेवा कत्तिको प्रतिस्पर्धात्मक दिन सक्छन् भन्नेमा भर पर्छ । जे भए पनि, आगामी दुई हप्तामै यी सबै गाडी प्रत्यक्ष अवलोकन गर्ने मौका पाउन अटोप्रेमीहरू आतुर बनेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्