
काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका रवि लामिछाने थुनामा नपुग्दासम्म ससंद्को हरेकजसो बैठकमा सरकारी ठगी प्रकरणबारे चर्को बहस हुन्थ्यो ।
ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी) ले सञ्चालन गरेको सहकारीले हजारौँ बचतकर्ताको अर्बौँ रकम ठगी गरेको भन्दै पीडितलाई न्याय दिनुपर्ने माग उठ्ने गरेको थियो ।
सोही विषयलाई लिएर कांग्रेसले त सदन अवरुद्ध नै गर्यो । पछि सहकारीबारे छानबिन गर्न संसदीय छानबिन समिति बनेपछि मात्रै सदन चल्यो ।
सोही छानबिनका आधारमा सहकारी ठगी प्रकरणमा जीबी राई मात्रै नभएर रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको समेत संलग्नता खुलाए पछि दुवैजना पक्राउ परे । हाल लामिछाने र जोशी दुवै रुपन्देही कारागारमा राखिएका छन् ।
उनीहरु जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमार्फत सहकारीको रकम ठगीमा जोडिएका हुन् । तर, विभिन्न सहकारी सञ्चालन गरेर ठगी गर्ने मूख्य योजनाकार जिबी राई भने अझै फरार छन् ।
आश्चर्यको कुरा त रवि लामिछाने पक्राउ नहुँदासम्म सरकारले जीबी राई पक्राउका लागि तीव्र प्रयास गरेको थियो । फरार राईको खोजीका लागि नेपाल प्रहरीको एक टोली उनी लुकेको आशंकामा मलेसिया नै पुग्यो ।
प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) समेत गुहार्यो । इन्टरपोलमार्फत उनी मलेसियामा रहेको खुले पछि प्रहरीको टोली मसेसिया पुगेको थियो ।
राईलाई इन्टरपोलले रेड नोटिसमा राखिसकेको छ । तर, उनलाई अझै पक्राउ गर्न प्रहरीले सकेको छैन । राईबारे प्रहरीसित अनुसन्धान भइरहेको र खोजी जारी रहेको छ भन्ने रेडिमेट जवाफबाहेक अरु छैन ।
तर संसदमा पीडितको न्यायका लागि माग गरेजस्तो पीडितले कुनै राहत पाएका छैनन् ।
सरकारको उपलब्धि भनेकै रवि र छविलाई मात्रै थुनामा पुर्याउनु रहेको भन्दै आलोचना हुने गरेको छ । जसकारण पछिल्लो समय रविलाई राजनीतिक प्रतिशोधका कारण थुनाएको आरोप प्रधानन्त्री केपी ओलीदेखि कांगे्रस नेताहरुमाथि लाग्दै आएको छ ।
उता रास्वपाले रविविरुद्धको राजनीतिक प्रतिशोध विरुद्धका लागि हस्ताक्षर अभियान नै चलाइराखेको छ । जसमा कलाकार, पूर्वन्यायाधीश र पूर्वप्रधानमन्त्रीले समेत ऐक्यवद्धता जनाइसकेका छन् । जीबी राईले सञ्चालन गरेको पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी र पर्साको सानोपाइला सहकारीको ठगीमा उनीहरू जोडिएका छन् ।
पाँच सहकारी ठगीका मुख्य योजनाकार भने जीबी नै हुन् । उनकै योजनामा बचतकर्ताले सहकारीमा राखेको अर्बौं रुपैयाँ अपचलन भएको हो । गोर्खा मिडिया नेटवर्क सञ्चालन गर्दा जीबी राईसँग रवि र छवि जोडिएका हुन् ।
प्रहरी र सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले सहकारीको रकम गोर्खा मिडियामा गएको खुलेपछि उनीहरूविरुद्ध समेत मुद्दा चलाइएको हो । प्रहरीले पूर्वडीआईजी जोशीलाई २०८१ असोज ६ गते पक्राउ गरेको थियो भने लामिछानेलाई एक महिनापछि कात्तिक २ गते पक्राउ गरेर कानुनी दायरामा ल्याइएको थियो ।
बचतकर्ताको अर्बौँ रकम हिनामिना भएको पाँचवटै सहकारीका सञ्चालक भने जीबी राई नै हुन् । राईले नै सहकारीको रकम अपचलन गर्न अनेक किसिमका डमी कम्पनी सञ्चालन गरेर अर्बौं रकम अपचलन गरेको खुलिसकेको छ ।
उनीबाहेक उनका सिंगो परिवार नै सहकारीको रकम ठगीमा जोडिएका छन् । ग्यालेक्सी टीभीमा जोशी सञ्चालक र लामिछाने प्रबन्ध निर्देशक थिए । तर, जीबी अझै कानुनी दायराबाहिर छन् । रमेश लेखक गृहमन्त्री भएपछि केही महिना जीबीबारे चासो देखाएका थिए । तर, पछिल्लो समय जीबी राई प्रहरीको खोजी सूचीमै छैन । लेखक गृहमन्त्री भएको एक वर्ष पूरा भइसकेको छ ।
प्रहरीका एक अधिकारीले औपचारिक रुपमा जीबीको खोजी जारी नै छ भन्नेबाहेक खासै कुनै प्रगति नरहेको स्वीकार गरे । तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरका पालामा राई मलेसियामा रहेको तथ्य खुलेको थियो ।
जिबी राईलाई नेपाल फर्काइदिन मलेसिया सरकार अनिच्छुक देखिएको प्रहरी अधिकारी नै बताउँछन् । सहकारी ठगी प्रकरणबारे जिल्ला अदालत कास्कीले जीबी राईसहित १८ जनाविरुद्ध पहिलोपटक २०८० साउनमा पक्राउ अनुमति दिएको थियो ।
यसरी नै राईकै सहोदर दाइहरू ५० वर्षीय अनन्तबाबु राई र ४७ वर्षीय देवेन्द्रबाबु राईसमेत फरार छन् । जीबी राई मलेसिया पुगे पनि उनका दाइहरू भने भारतमा लुकेको आंशका प्रहरीको छ ।
कास्की प्रहरीले गएको जेठमा नै जीबीको राहदानी रद्द गर्नुपर्ने निष्कर्षसहित परराष्ट्र मन्त्रालय र राहदानी विभागलाई पत्र लेखेको थियो । तर, कानुनी प्रावधानका कारण उनको राहदानी अझै रद्द भएको छैन ।