
काठमाडौं । अमेरिकामा जेफ्री एप्स्टिनको मृत्युको मामिलाले नयाँ मोड लिएको छ । अमेरिकाका एक न्यायाधीशले बुधबार जेफ्री एप्स्टिनको पुरानो ग्रान्ड जुरी (गोपनीय जाँच)को प्रतिवेदन सार्वजनिक गर्न गरेको ट्रम्प प्रशासनको माग खारेज गरेका हुन् ।
यो मामिलाको सुनुवाइका क्रममा फ्लोरिडाको वेस्ट पाम बिचका अमेरिकी जिल्ला न्यायाधीश रोबिन रोसेनबर्गले ती दस्ताबेज सार्वजनिक गर्नुपर्ने असाधारण कानुनमा उल्लेख परिस्थिति नभएको बताए ।
हालै अमेरिकी न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकबीच फैलिरहेका षड्यन्त्रका सिद्धान्त (कन्सपिरेन्सी थ्यौरी)लाई रोक्न उक्त अनुरोध गरेको थियो । फैलिरहेका षड्यन्त्रका सिद्धान्त (कन्सपिरेन्सी थ्यौरी)को दाबीअनुसार एप्स्टिनका ग्राहकलाई शक्तिका आडमा जोगाइएको, उनका अपराधका भिडियो लुकाइएको र प्रमाण दबाइएको जनाइएको छ ।
सन् २००८ मा एप्स्टिनले फ्लोरिडामा सरकारी वकिलसँग आफूमाथि गम्भीर आरोप नलगाउन सम्झौता गरेका थिए । उनले नाबालिगसँगको यौन कारोबार र वेश्यावृत्तिको मामिलामा सजाय पाएका थिए ।
त्यसपछि सन् २०१९ मा उनलाई फेरि यौन तस्करीको आरोपमा गिरफ्तार गरिएको थियो । करिब एक महिनापछि उनी न्युयोर्कको जेलमा मृत अवस्थामा फेला परेका थिए । उनको मृत्युलाई आत्महत्या भनिएको थियो । एप्स्टिनकी सहयोगी घिसलेन म्याक्सवेललाई पनि पक्राउ गरिएको थियो ।
अमेरिकाभर यो विषयमा चर्चा हुनुको प्रमुख कारण एप्स्टिन र म्याक्सवेलको सम्बन्ध धेरै चर्चित व्यक्तिहरूसँग थियो भन्ने छ । यसमा राजपरिवारका सदस्य, पूर्वराष्ट्रपतिहरू र अर्बपतिहरू समावेश थिए ।
यो विषयमा ट्रम्प समर्थकबीच विभिन्न षड्यन्त्रका सिद्धान्त फैलिएको छ न्युयोर्कमा यस्तै अर्को विषयमा दस्ताबेज सार्वजनिक गर्ने माग विचाराधीन छ ।
यो विषयमा उल्लेखनीय के छ भने, जेफ्री एप्स्टिन एक धनी फाइनान्सर थिए । उनीमाथि कम उमेरका किशोरीको यौनशोषण र तस्करीको गम्भीर आरोप लगाइएको थियो । उनीमाथि मुद्दा चलिरहेका बेला सन् २०१९ मा न्युयोर्कको जेलमा मृत अवस्थामा फेला परेका थिए । उनको मृत्युका विषयमा अझै पनि शंका र षड्यन्त्रका सिद्धान्त चलिरहेका छन् । एपीबाट ।