site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसीमा एक वर्षमा २६ हजार किलो गाँजा बरामद
मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकबाट असार २८ मा बरामद गरिएको गाँजा । फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१/८२ मा २६ हजार ७०५ किलोभन्दा बढी गाँजा बरामद गरेको छ । यो अवधिमा खेतबारीमा उम्रेका तथा लगाइएका १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

कार्यालयका अनुसार, गाँजाको ओसारपसार एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट भएका सवारी, तरकारी गाडी, मोटरसाइकल तथा कोसी नदीको पानी र जमिनभित्र लुकाएर भइरहेको थियो । सूचनाको आधारमा प्रहरी टोलीले ती सवारीसाधन र स्थानहरूबाट गाँजा बरामद गरेको जनाएको छ ।

जिल्लागत रूपमा सुनसरीबाट १२ हजार ३७५ किलो, मोरङबाट ६ हजार ६५० किलो, धनकुटाबाट चार हजार १९४ किलो, उदयपुरबाट एक हजार ८१० किलो, र झापाबाट एक हजार ६५१ किलो गाँजा बरामद गरिएको छ । सो क्रममा १६५ पुरुष र २४ महिला तथा ३१ चारपांग्रे र ७५ दुईपांग्रे सवारी नियन्त्रणमा लिइएको छ ।

त्यस्तै, धनकुटा, भोजपुर, उदयपुर, सोलु र खोटाङमा गरी दुई ४६४ रोपनी क्षेत्रफलमा फैलिएको गाँजाको खेती नष्ट गरिएको बताइएको छ । 

प्रहरीले लागुऔषध कारोबारविरुद्धको अभियानमा सहकार्यका लागि नागरिकसँग आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्