काठमाडौं । संकटा क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब एन्फा यू–१६ युथ लिगको तेस्रो स्थानमा उक्लिएको छ । बिहीबार लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा मछिन्द्रले संकटालाई २–१ ले पराजित गरेको हो ।
जितसँगै मछिन्द्र लिगको तेस्रो स्थानमा उक्लिएको हो । मछिन्द्रले आठ खेल खेल्दा पाँच जित, दुई बराबरी र एक हारसहित १७ अंक बनाएको हो । मछिन्द्रको जितमा राहुल कुमार योञ्जन र गोविन्द केसीले समान एक गोल गरे । संकटाका पेम्बा तामाङले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
खेलको ३३औँ मिनेटमा संकटाका पेम्बाले टोलीलाई अग्रता दिलाए । तर, संकटाले यो अग्रता दोस्रो हाफको सुरुआती पाँच मिनेटमै गुमायो । ८३औँ मिनेटमा मछिन्द्रका गोविन्दले गोल गर्दे टोलीलाई २–१ को अवस्थामा ल्याए ।
मछिन्द्रले खेलको अन्तिम मिनेटसम्म अग्रतालाई जोगाउँदै जित पक्का गरेको हो । उसले अब नवौँ खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । खेल आउँदो सोमबार (साउन १२ गते) बिहान १० बजे हुनेछ । पराजित संकटा भने दोस्रो स्थानमा छ ।
मछिन्द्रसँग एक अंकको दुरी कायम गरेको संकटाले आठ खेल खेल्दा ६ जित र दुई बराबरीबाट १८ अंक कायम गरेको हो । अब उसले नवौँ खेलमा साविक विजेता चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ । खेल आउँदो आइतबार (साउन ११ गते) बिहान १० बजे हुनेछ ।