site stats
बाह्रखरी :: Baahrakhari
विदेश
फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने राष्ट्रपति म्याक्रोंको घोषणा

काठमाडौं । इजरायल र हमासबीच जारी द्वन्द्वबीच फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले एउटा ठूलो घोषणा गरेका छन् । उनको फ्रान्सले अब प्यालेस्टाइनलाई स्वतन्त्र देशका रूपमा मान्यता दिने बताएका हुन् ।

उनले आउँदो सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभा (यूएनजीए)मा औपचारिक रूपमा यसको घोषणा गर्ने स्पष्ट पारेका । गाजामा जारी युद्ध र त्यहाँका नागरिकको भोकमरी र कष्टका विषयमा विश्वभर आक्रोश बढिरहेका बेला म्याक्रोंले यस्तो निर्णय गरेका हुन् ।

उनले सामाजिक सञ्जाल एक्स पोस्टमा लेखेका छन्, “यो समयमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको गाजामा युद्ध तत्काल रोकियोस् र सर्वसाधारणको ज्यान बचाइयोस् ।”

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेको थियो । म्याक्रोंले त्यति बेला इजरायलको समर्थन गरेका थिए । र, यहुदीको विरोधका विरुद्ध लगातार बयान दिएका थिए ।

तर, पछिल्ला महिनामा गाजामा इजरायलको सैन्य कारबाही, विशेष गरी सर्वसाधारणमाथिको बमबारी र खाद्य तथा पेयपदार्थको तीव्र अभाव देखेर म्याक्रों यो युद्धबाट निकै असन्तुष्ट र चिन्तित देखिएका जनाइएको छ ।

यसअघि पनि धेरै देशले प्यालेस्टाइनलाई स्वतन्त्र देशका रूपमा मान्यता दिइसकेका छन् ।

प्यालेस्टाइनी अधिकारीले म्याक्रोंको निर्णयको स्वागत गरेका छन् । जबकि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणपछि आतंकवादलाई पुरस्कृत गर्ने बताए ।

अमेरिकाले म्याक्रोंको घोषणालाई कडाइका साथ अस्वीकार गरेको छ । विदेशमन्त्री मार्को रुबियोले यो निर्णयलाई ‘लापरबाहीपूर्ण’ भनेका छन् । एपीबाट ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्