site stats
बाह्रखरी :: Baahrakhari
खेल
पुलिस ३–० ले विजयी

काठमाडौं । नेपाल पुलिस क्लब एन्फा यू–१६ युथ लिगमा  विजयी भएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा श्री भगवती क्लबसँगको खेलमा पुलिस ३–० ले विजयी भएको हो । 

पुलिसको जितमा दिपशन पाण्डेले दुई गोल गर्दा समीर कुमारले एक गोल गरे । टोलीले पहिलो हाफमा दुई र पछि एक गोल गरेको थियो । 

खेलको १७औँ मिनेटमा दिपशनले पुलिसलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा समीरले अग्रतालाई दोब्बर बनाए । खेलको इन्जुरी समयमा दिपशनले दोहोरो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । 

जितसँगै लिगमा पुलिसले २२ अंक बनाएको छ । आठ खेलसम्म पनि अपराजित यात्रा कायम गरेको पुलिसले सात जित र एक बराबरीबाट २२ अंक बनाएको हो । अब नवौँ खेलमा पुलिसले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल आउँदो बुधबार (साउन १५ गते) दिउँसो १ बजे हुने तालिका छ । 

पराजित भगवतीले भने नवौँ खेलमा अब एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल आउँदो सोमबार (साउन १२ गते) दिउँसो ४ बजे हुने तालिका छ ।  

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १९:४२
प्रतिक्रिया दिनुहोस्