
एक्लो रात त्यसै लामो हुन्छ काट्न । त्यसमाथि सुनसान भइदिँदा बित्नै नसकिने अन्तहीन रात लाग्न थाल्छ । एक्लोपन खोलाको बगरजस्तै टाढाटाढासम्म पस्रेर बसेको लाग्छ ।
कष्टकर हुन्छ रात बित्न पनि । अँध्यारोले निल्न आएजस्तो । निद्रा पनि बाटो भुलेर कतै हराएजस्तो । रात काट्नै कठिन । मन बेचैन हुन्छ । कोही साथमा भइदिएजस्तो हुन्छ । न्यानो सामीप्यको प्यास । मरुभूमिमा ओएसिसको आभास । जूनले केही भनिरहेछ जस्तो ।
कानमा कानेखुसी गरिरहेको लाग्छ कसैले । कानले केही सुन्न चाहेजस्तो । कसैको मनको ढुकढुकी, सासको मन्द ध्वनि, दबेको स्वरमा स्वप्निल अभिव्यक्ति कानमा गुनगुन गरिरहन्छ । अवचेतन मनको ध्वनि मरिचिका !
टाढाटाढासम्म फैलिएको सागरको सुक्खा बगरको चकमन्नता । मनभित्र अतीतका सम्झनाको अन्तहीन विस्तार ! समयको टिकटिकसँग निर्बाध बगिरहेको लहर । चन्द्रमाको इसारामा तिर्खाएर बसेको बगरको छातीलाई निथ्रुक्क पारेर जान्छ ।
लहरको स्पर्श तनुश्रीलाई हाइसन्चो लाग्छ । लहरको उद्वेलित बहावमा चुर्लम्म डुबाउँछे आफूलाई । लहर सँगसँगै अतीतको सागरमा बगिरहेकी हुन्छे ऊ । कताकता प्यासको अनुभूति जाग्छ ऊभित्र ।
तिर्खाएका मानिस प्रायः भौँतारिरहन्छ, तिर्खा मेट्न । तनुश्री त प्यासी थिइन । जीवनरस उसले घटघटी पिएकी छे, धीत मरुन्जेल । बिनाप्यासको कस्तो तिर्खा ! केको प्यास ! कस्तो छटपटीको आभास !
बेचैन बनाइरहेको हुन्छ उसलाई भित्रभित्रै । किन कानमा कानेखुसी गरेजस्तो लाग्छ कसैले ! कस्तो चकमन्न निर्जनता ओढेको रात ! बेला टक्क अडेर बसेजस्तो । देहजात प्यास हमिङ बर्डजस्तै फर्कीफर्की आउँछ । कानमा भुनभुन गरिरहन्छ चेतनामा ।
प्यासको अनुभूतिलाई तनुश्री बिनाकुनै आडम्बर सरल रूपमा मेट्छे, जीवनलाई जिउनुको अर्थमा जिएर । यसको लेखापरीक्षण गरेर बस्दिन ऊ । यसको वासलातमा कुनै रुचि छैन उसलाई । के अनुभूतिको हिसाब राख्न सम्भव हुन्छ ? आलिंगन र स्पर्श सुखलाई नाप्न सकिन्छ ? जोडघटाउ गरेर यसको सघनता अनुमान गर्न सम्भव छ ? यो अलौकिक संयोजनको वासलात कसैले बनाउन सक्छ ?
यो त मनको अनुभूत भाव हो । यो रतिसुख मात्र होइन, जीवनको रङ पनि हो । उपासना पनि हो । जीवनको जीवन्त स्वरूपसँग साक्षात्कार हो । यो नैसर्गिक हो । यो जीव सन्तुलनको प्राकृत प्रबन्धन हो । मानिस यसलाई विवाहमा खोज्छ । के विवाह पर्याय हो वा हुनसक्छ ?
प्रकृतिले प्राणीमात्रलाई अनुकूलन क्षमता दिएको छ । वातावरणअनुरूप बाँच्ने र विकसित हुने जैविक गुण र कार्य गर्ने सहज प्रवृत्ति । यसैअनुरूप मानिसबाहेक सम्पूर्ण जीवमण्डलको जीवनचक्र चलेको हुन्छ । यसअर्थमा वनस्पति र पशुपन्छी स्वतन्त्र हुन्छ । साथै, सहमतिमा पनि रहेको हुन्छ । कुनै अस्वाभाविकता वा विकृतिको अवस्था रहँदैन, यिनको जीवन जिउने अभिप्रायमा ।
तर, मानिसले जिउनुको प्राकृत अभिप्रायमा सामाजिक मर्यादाका नाममा पर्खाल खडा गरेर पुरुष वर्चस्वको परम्परा स्थापित गरे । यही सामाजिक मर्यादाको नाममा दुई व्यक्तिको सम्बन्धलाई वैध बनाउने कार्यलाई विवाहको संज्ञा दिए । सामाजिक मर्यादाको नाममा एउटा सम्झौता !
पुरुष र स्त्रीमा यो समझौताले सामाजिक विभेद कायम गर्न पुग्यो । पुरुष अगाडि भयो । स्त्रीले पछि लाग्नुपर्ने अवस्थाको भयो । पुरुष वर्चस्वको यो विभेद उत्तरआधुनिक कालमा शिक्षित र जागरुक महिला स्वीकार्न तयार छैनन् ।
आफू र आफ्नो व्यक्तित्वबारे सम्पूर्ण निर्णय आफँैले लिने पक्षमा छे ऊ । अनि, सक्षम पनि छे ।
विवाह ! कतैबाट कानमा आवाज आउँछ उसको ।
तनुश्रीको अनुहारमा उपहासको हाँसो पोतिन्छ । यस्तो के दिन्छ यसले जसले गर्दा सधैँभरि टाँसेर राख्नुपर्ने आफूसँग यसलाई ! आफ्नो सारा निजीपन अरूलाई सुम्पेर । किन ? मनमा कुरा खेल्न थाल्छ उसको । नाताको निर्बन्धनले नारी व्यक्तित्वलाई संकुचन गर्ने यो सामाजिक मर्यादाभित्र नारी स्वर, इच्छा र आकांक्षाहरूको कुनै अस्तित्व नै हुन्न, पुरुषले सहमतिको छाप नलगाएसम्म । मर्दले जस्तै स्वतन्त्र निर्णय किन लिन नपाउने स्त्रीले ? तनुश्री सोच्न थाल्छे । अन्तरमनभित्र धेरै कुरा खेल्न थाल्छ ।
‘यसबाट केही पाइँदैन र ?’ अन्तरमनले हाँस्दै उसलाई सिधा प्रश्न गर्छ ।
तनुश्री केही बेर चुप बस्छे । फेरि जवाफ दिन्छे, ‘पाउँछ नि, किन पाउँदैन र ! विवाहपश्चात् सुरुका केही वर्षमा दुवैले केही न केही पाएका हुन्छन् । प्राप्ति त्यस बेलाको कुनै नशाभन्दा कम हुँदैन । दुवैले त्यसभित्र एकार्कालाई खोज्छन् । एउटै ज्यान भएजस्तो दुवैलाई लाग्छ । देहको चार किल्ला सबै नापजोख गरिसकिन्छ । यी सबै कुराका समयसीमा हुन्छ । तर, शाश्वत सत्य व्यक्त नभए पनि मनको कुनै कुनामा थिचिएर बसेकै हुन्छ...
...एउटा देहमा दुईचार वर्षभन्दा बढी खोज्नुपर्ने कुरा बाँकी के नै रहन्छ ! त्यसपछि सबै कुरा रुटिन भइदिन्छ, एउटै लिकमा दौडिरहेको रेलगाडीको नियतिजस्तै । एक स्टेसनपछि अर्को स्टेसन, अनि अर्को ।
गन्तव्य नै सफरको प्राप्ति । सफरको अन्त नै सन्तुष्टिको पूर्णता । एकतमासको अभ्यस्त दिनचर्या । बानी बन्छ उमेरको सापेक्षतामा । उत्तेजना, इमोसनल विस्फोटको अनुभूति बिस्तारै धमिलिँदै जान्छ ।
नीरसता समयसँगसँगै सुलसुले झैँ पस्छ दुवैभित्र । व्यवहारमा नजानिँदो रूपले परिवर्तन देखिन्छ । यो नीरसताको विकल्प पुरुषले बाहिर खोज्छ । सामाजिक मर्यादाको पर्खालले महिला वर्जनाको सीमाभित्र घुट्नमा बाँच्नुपर्ने ! अनन्त तिर्खा आफूभित्र बोकेर तृप्त देखिनुपर्ने । किन ?
सामाजिक मर्यादाको यो मानक पुरुषको हकमा छुट किन ? समाजसँग उत्तर हुँदैन यसको । समाजको पितृसत्तात्मक मानसिकताको अभिज्ञान...
...लायक वा नालायकको कुनै मानकविना पुरुष स्वतन्त्र हुन्छ । पुरुष आफ्ना सबै निर्णय लिन स्वतन्त्र हुन्छ भने नारीको हकमा त्यो अनैतिक किन ? के नारी दोस्रो दर्जाका प्राणी हुन् ! तनुश्री उपहासको अन्दाजमा बुदबुदाउँछे आफैँसँग ।
नारी प्रकृति । प्रकृति सृष्टि अनि सिर्जनशील । नारी सिर्जनशीलताको चिनारी । नारीलाई सम्मान गर्ने हाम्रो सनातन परम्परा ।
‘यत्र नार्यस्तु पुज्यन्यते रमन्ते तत्र देवताः ।’ तर, पितृसत्तात्मक हाम्रो समाजमा नारीसँग विभेदपूर्ण वर्जना किन ? के यसलाई प्राकृत भन्न मिल्छ ? कसले दिने यसको जवाफ ?
महानगरमा हुर्केबढेकी एक उत्तरआधुनिक सोच राख्ने वर्किङ वुमन तनुश्री । आकाशजस्तै खुला विचार र विस्तीर्ण चेतना । कुनै किसिमको मुल्लमा नभएको वर्जनाविहीन व्यवहार । रूढीग्रस्त समाजको ट्याबुलाई खारिज गर्ने स्वतन्त्र चिन्तन राख्ने उत्तरआधुनिकभन्दा परको सोच राख्ने आइमाई । जीवनलाई जीवनजस्तै जिउनुपर्छ भन्नेमा गहिरो विश्वास राख्छे ।
समाज र परम्पराको बर्कोभित्र नाताको अप्राकृतिक मुकुण्डो लगाई जीवन जिउन स्वीकार छैन उसलाई । के प्रेमको अन्तिम गन्तव्य विवाह नै हुनुपर्छ ? के विवाहले माया उत्सर्जन गर्छ ? माया, प्रेम के परम्परा र समाजको नियम–कानुनले निर्धारण गर्ने कुरा हो ? समाजले उत्तर दिन नसक्ने कैयन् यस्ता प्रश्नहरू उसको अन्तरमनले सोधिरहन्छ । घोचिरहन्छ उसलाई ।
माया आफैँमा पूर्ण हुन्छ । यो आफंँमा सम्प्रेषणीय हुन्छ । मात्र चाहिन्छ बुझ्ने सम्वेदनशील हृदय । यसलाई नाताले बाँधेर परिभाषित गर्नेमा रुचि राख्दिन तनुश्री । मायामा बन्धन वा आधिपत्य स्वीकार छैन उसलाई ।
नाताको चार किल्ला ठोकी साँध खडा गरी माया खोज्ने भनेको कसैका अगाडि बन्दुक तेस्र्याइ माया गर भन्यासरह ठान्छ उसको चेतनाले । यस्तो मायालाई प्राकृत मान्दिन ऊ । सहज र स्वाभाविक पनि ठान्दिन यसलाई ।
माया उसका लागि सत्यम्, शिवम्, सुन्दरम् हो । फेरिफेरि पुलक जगाउने हो माया उसका लागि । बाँच्नको लागि उमंग पैदा गर्ने हो मायाले । तनुश्री त्यस्तो मायाको आकांक्षी हुन्छे । यसैको छटपटी बोकी भौँतारिरहेकी हुन्छे तलासमा ऊ ।
तनुश्री खुला र स्पष्ट सोच राख्ने ‘ए वर्किङ वुमन विथ लट्स अफ एक्सपिरियन्स’ । अनुभवले धेरै कुरा सिकाउँछ । मानिस समझदार बन्छ । जीवनप्रतिको सोचले स्पष्टता भेट्छ । सोचमा गहिराइ आउँछ । मस्तिष्कमा अनुभूतिहरू जन्मिन्छन् । हृदयले अनुभव गर्छ । जिउनलाई त्यसले विभिन्न अर्थ र रङ प्रदान गर्छ ।
यही अर्थ र रङमा जिउन चाहन्छे तनुश्री । कृत्रिमताले नछोएको परिवेशमा ।
जड्ता उसको प्रकृति होइन । लिकमा हिँड्ने जिन्दगी बाँच्न चाहँदिन ऊ । जीवन्तता उसको स्वभाव हो । कुँजिएर पिठ्युँमा जीवन बोकी हिँड्न उसको विवेकले मान्दैन । जीवनलाई सम्पूर्ण रूपमा बाँच्न चाहन्छे, किस्ताकिस्तामा होइन । केस्राकेस्रा छुट्या होइन ।
जीवन सबैले एकपटक पाउँछन् । हामी यसलाई अरूका हिसाबले बाँच्न खर्चिदिन्छौँ । फेरि, एक दिन हामी सबै मर्छौं – म पनि, ऊ पनि । अरू पनि, सबै । खरानी भएपछि के नर र मादाको पहिचान रहन्छ ?
तर, बाँच्दा नर र मादाको व्यक्तित्व ओढेर मात्र अभिव्यक्त हुनुपर्ने ? पतिपत्नीबाहेक अरू परिचय अटाउँदैन सामाजिक मर्यादाको पर्खालभित्र । यसबाहेक अरू कुनै परिवेशमा आआफ्नो रुचिअनुरूप एउटै छतमुनि किन बाँच्न नसकिने ?
एउटा उत्तरआधुनिकपछिको अझै उत्तरवर्ती अभिज्ञानको प्रसव पीडा तनुश्रीभित्र जन्मिरहेको हुन्छ । विनिर्माणको धङधङीले व्याकुल रहन्छ तनुश्रीको चेतना । एउटा युगीन रूपान्तरणको चेतना मौलाइरहेको हुन्छ ऊभित्र । जेनेरेसन अल्फा, बेटाभन्दा अझै अग्रवर्ती...।
एकै छानामुनि सँगै बस्दा पनि आआफ्नो अस्तित्व र व्यक्तित्व कायम राखेर बस्ने सामाजिक परिवेशको आकांक्षी तनुश्री । कोही कसैमा समाहित भएर बाँच्नु भनेको अस्तित्वविहीन भएर बाँच्नुसरह हो उसका लागि । अस्तित्वको भावबोध वा संवेदन हुँदैन भने त्यो जीवन के जीवन ! साँस फेर्नु मात्र जीवन हुँदैन । त्यो त जड जीवन हुन्छ, उत्कण्ठारहित ।
नाताको मुकुण्डोविना एकै छानामुनि बसेर एकार्काका अस्तित्व र व्यक्तित्व स्वीकार गर्ने हो भने त्यहाँ आधिपत्य अनि अहंकार हुने छैन । दुवैका आआफ्ना स्पेस हुनेछ । त्यो दिन एउटा नयाँ गोरेटो समाजले पहिल्याउनेछ ।
तनुश्री त्यही खुला गोरेटोको खोजीमा छे । यसैको तलासमा एउटा विद्रोह जन्मिरहेको हुन्छ ऊभित्र । रूढिग्रस्त सामाजिक मानकको विनिर्माणको एउटा पहल ।
तनुश्री प्रेम गर्छे खुलेर । विवाहलाई स्वीकार्दिन ऊ । विवाहको निरूढाले मानिसको स्वतन्त्र स्पेसमा अतिक्रमण गर्छ । नाताको यो घेराले आइमाईको अस्तित्वलाई खुम्च्याइदिएको हुन्छ । पत्नीको अस्तित्व फ्रेममा जडेर भित्तामा झुन्ड्याइएको तस्बिर हुन जान्छ । टुलुटुलु हेरेर बस्नुपर्ने नियति । केही गर्न नसक्ने विवशता । जीवनमा कुनै रोमान्स रहँदैन । मात्र औपचारिक प्रेम र सामाजिक परिबन्धले जन्माएको नाता, दैहिकस्तरमा अनि मानसिकस्तरमा पनि ।
ऊभित्र उत्तरआधुनिकपछिको स्त्री चेतनाको छटपटी हुन्छ । मर्दजस्तै तृप्त हुने हक उसलाई किन नहुने ? ‘माई बडी माई च्वाइस’को स्वतन्त्रता उसको अधिकार हो । आफ्ना निर्णय गर्न अरूको स्वीकृति अस्वीकार हुन्छ उसलाई ।
तनुश्रीको जिउने तरिका खुला, कुण्ठाविहीन र चिन्तनको स्तरमा निकै अग्रगामी तथा बोल्ड देखिन्छ । घिसेपिटेका पुरातन ढर्रामा जीवन जिउन रुचाउँदिन । प्रेमलाई जीवनको धुरी मान्छे । मानवीय संवेदनको सर्वोपरि अभिव्यक्ति ! प्रेम रहेसम्म जीवन जीवन्त रहन्छ । यसको अभावमा सागर छेउको सुक्खा बगर हुन्छ जीवन ।
अंग–राग प्रेमको सार्थकपूर्ण उपलब्धि । यो शाश्वत हो । कृत्रिमताको लेप लगाउन चाहँदिन यसमाथि तनुश्री । यसलाई अस्वीकार गर्नु आफैँलाई छल्नु हो । ऊ या त ढोँगी हुन्छ वा सामान्य मानिसभन्दा धेरै माथि ।
आफ्नो सहयात्रीसँग उसले आफ्नो सोच स्पष्ट र छलरहित राखेको हुन्छे । संवेदनशीलता हुन आग्रह राख्दिन । स्वस्फूर्तको अपेक्षा राख्छे । मानसिक धरातलमा विषमता स्वीकार छैन उसलाई । त्यसैले ऊ भन्छे– एउटै छतमुनि हामी बस्दैनौँ ।
तर, हामी भेटी रहन्छौँ जीवनपर्यन्त । फेरिफेरि भेटिरहनेछौँ । हरेकपटक प्रेमीप्रेमिकाजस्तै भएर भेट्नेछौँ । जीवन एकसाथ बाँच्नेछौँ । विवाह बन्धनमा बाँधिने छैनौँ । कुनै किसिमको अधीन र आधिपत्य हुने छैन हामीमाझ, दबाब र बन्धनबिनाको निर्बन्धता । ‘नट इभेन लिभ–इन रिलेसनसिप’ ।
कुनै पनि रिलेसनसिपमा केही समय बितेपछि नाताले निष्ठा र विश्वास खोज्न थाल्छ । नाताले बाँधिएपछि अपेक्षा सामान्य मनोविज्ञान बन्छ । त्यसकारण उसले आफ्नो सोच लिभ–इन रिलेसनसिपभन्दा पनि परको राखेकी हुन्छे ।
आधुनिकताभन्दा निकै परको सोच । उत्तरआधुनिक सोचभन्दा अझै पर, जहाँ प्रेम सधैँ बाँचिरहोस् । माया नै रहन्न भने बाँकी के रहन्छ ! निस्पनदन शरीर, जड सम्बन्ध, रुटिन जिन्दगी ।
तनुश्रीले यो सबै देखेकी हुन्छे आफ्ना साथीहरूसँग घटेको । त्यसैले आफ्नो तारुण्य बेलामा नै उसले अठोट गरेकी थिई– लोग्नेमानिसलाई आफ्नो जीवनमा त्यति मात्र स्पेस दिने जसबाट आफ्नो अस्तित्व जीवित रहोस् ।
साथै, प्रेम पनि प्रेमिल बनिरहोस् । पुरुषले स्पेस बढी पाउन थालेपछि ऊ मित्रबाट मालिक बन्न थाल्छ । हर्ताकर्ता ठान्छ आफूलाई । यस्तो नहोस् भनेर तनुश्री सतर्क रहन्छे । आआफ्ना स्पेसमा अतिक्रमण रुचाउँदिन ऊ ।
मालिक हुनासाथ लोग्नेमानिसले सबै कुरालाई वस्तु ठान्न थाल्छ । वस्तुमाथि अधिकार स्थापित गर्छ । प्रेमलाई पनि वस्तु नै ठान्छ । प्रेममा निहित संवेदन सबै समाप्त भएर जान्छ । प्रेम निष्प्राण भएर जान्छ । नारी अनि भोग्यामा परिवर्तित हुन जान्छे । नारी असहाय हुन्छे । परनिर्भर बन्न जान्छे ।
आफूलाई भोग्या कहिल्यै स्वीकार्दिन तनुश्री । बरु, नारी हुनुमा गर्व छ उसलाई । नारीको महत्ता कम गर्ने समाजप्रति टिठ लाग्छ उसलाई । त्यसैले उसभित्र विद्रोह जन्मिरहेको हुन्छ ।
कुनै सायरले नारी महत्ताबारे भन्छ–
रास्ता दे कि मोहब्बत में बदन शामिल है
मैं फकत रूह नहीं हूँ मुझे हल्का न समझ ।