
काठमाडौं । १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४)मा सहभागी हुने पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोलीको बिदाइ गरिएको छ । शनिबार (साउन ९) जिल्ला तेक्वान्दो संघ काठमाडौंले उनीहरूलाई बिदाइ गरेको हो ।
टोलीलाई नेपाल च्याम्बर अफ कमर्सअन्तर्गत शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रूपक राजवंशी र उपाध्यक्ष सुनीता सिंह, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायत अधिकारीले ठमेलमा आयोजित कार्यक्रमबीच बिदाइ गरे । अध्यक्ष राजवंशीले टोलीलाई प्रोत्साहनस्वरूप ५० हजार रुपैयाँ नगद प्रदान गर्ने घोषणा गरे ।
मलेसियाको कुचिङमा हुने प्रतियोगितामा पाँचै नेपाली खेलाडीले साउन १६ गते प्रतिस्पर्धा गर्नेछन् । टोली साउन १३ गते मलेसिया जानेछ ।
पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महताले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्नेछन् ।
महिला ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धनले प्रतिस्पर्धा गर्नेछिन् । महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले खेल्नेछन् । चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यतैबाट मलेसिया जानेछिन् ।
पारा तेक्वान्दोका सफल प्रशिक्षक कविराज नेगी लामा यो प्रतियोगितामा पनि प्रशिक्षकको भूमिकामा छन् । व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ छन् । प्रशिक्षक लामाले वरीयता सुधार गर्न प्रतियोगता महत्त्वपूर्ण भएको बताए ।
नेपालले सुरुको संस्करणदेखि निरन्तर प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । हालसम्म नेपालले एक रजत र पाँच कांय गरी ६ पदक जितेको प्रशिक्षक लामाले जानकारी दिए ।