
काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ‘कुलिङ अफ पिरियड’का बारेमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरेका छन् ।
प्रचण्डले ‘कुलिङ पिरियड’मा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि समेत छानबिन गर्नुपर्ने शनिबार (साउन १०) बताएका थिए । आइतबार (साउन ११) सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले प्रचण्डमाथि नै नैतिक प्रश्न सिर्जना हुने जिकिर गरेका हुन् ।
प्रधानमन्त्रीमाथि छानबिन गर्नुपर्ने प्रचण्डको मन्तव्यप्रति गम्भीर ध्यानाकर्षण भएको उनले उल्लेख गरेका छन् ।
“...२०८० फागुन ११ गते संसद्मा विधेयक दर्ता भएको बेला तपाईं नै प्रम हुनुहुन्थ्यो र तपाईंकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले यो विधेयकलाई संसद्मा पेस गर्न स्वीकृति दिएको हो,” भट्टराईले लेखेका छन्, “जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाईं कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन । आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ?”
प्रचण्ड प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका वरिष्ठतम सदस्य हुन् । त्यो समितिमा ‘कुलिङ पिरियड’ राख्ने निर्णय गरिएको थियो । पछि उक्त व्यवस्थामा छेडखानी गरिएको विषयले राजनीति तंरगित छन् ।
“जुन समितिले कुलिङ अफ पिरियड राख्ने निर्णय गरेको थियो । तर, समितिको प्रतिवेदन संसद्मा पेस गर्दा यो व्यवस्थालाई तलमाथि किन गरियो ? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठ्छ होइन र ? अनि, छानबिन त तपाईंमाथि नै गर्नुपर्ने हो कि ? आफ्नै बोली आफैँलाई गलापासो नहोस् !,” उनले लेखेका छन् ।
योगेश भट्टराईको फेसबुक स्टाटस पढ्नोस्–
कमरेड पुष्पकमल दाहालज्यू,
लालसलाम
तपाईंले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रम केपी ओलीलाई समेत छानबिन गर्नुपर्ने भनेर मम्तव्य दिनुभएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । निम्न विषयमा तपाईंको ध्यानाकर्षणसहित जवाफको अपेक्षा गर्दछु ।
१. हामी विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नुपर्छ भन्ने पक्षमा छौँ र यो विषयको संशोधन हामीले (सांसदहरू) नै राखेका हौँ । आज पनि हामी यो अड़ानमा कायम छौँ ।
२. तपाईंले वर्तमान प्रम केपी ओलीमाथि व्यंग्य गर्नुभएछ । तपाईं कुलिङ अफ पिरियडका सम्बन्धमा ‘प्रचण्ड’ अडानमा हो भने मेरो प्रश्न छ– २०८० फागुन ११ गते संसद्मा विधेयक दर्ता भएको बेला तपाईं नै प्रम हुनुहुन्थ्यो र तपाईंकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले यो विधेयकलाई संसद्मा पेस गर्न स्वीकृति दिएको हो, जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाईं कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन । आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ? सांसदहरूको संशोधन प्रस्तावपछि मात्र यो विषयको बहस सुरु भएको हो । यो तथ्यका बारेमा हेक्का रहोस् ।
३. प्रतिनिधिसभाको राज्यव्यवस्थ तथा सुशासन समितिको तपाईं वरिष्ठतम सदस्य पनि हो, जुन समितिले कुलिङ अफ पिरियड राख्ने निर्णय गरेको थियो । तर, समितिको प्रतिवेदन संसद्मा पेस गर्दा यो व्यवस्थालाई तलमाथि किन गरियो ? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठछ होइन र ? अनि, छानबिन त तपाईंमाथि नै गर्नुपर्ने हो कि ? आफ्नै बोली आफैँलाई गलापासो नहोस् !