काठमाडौं । साविक विजेता चर्च ब्वाइज युनाइटेड र संकटा क्लबले एन्फा यू–१६ युथ लिगमा बराबरी खेल खेलेका छन् । आइतबार लिगअन्तर्गत सम्पन्न दोस्रो खेलमा साविक विजेता चर्च ब्वाइज र संकटाले २–२ को बराबरी खेलेका हुन् ।
सातदोटबाटोस्थित एन्फा मुख्यालयमा चर्च ब्वाइजले दुईपटक अग्रता बनाए पनि जोगाउन सकेन ।
खेलको १९औँ मिनेटमा स्वपनि दर्नालको गोलमा चर्च ब्वाइजले अग्रता बनायो । ६०औँ मिनेटमा संकटाका पेम्बा तामाङले टोलीको निम्ति बराबरी गोल फर्काए ।
७६औँ मिनेटमा चर्च ब्वाइजका अप्सन गुरुङले गोल गर्दै टोलीलाई २–१ को अवस्थामा राखे । ८९औँ मिनेटमा संकटाका प्रज्वलकुमार लुम्रेले गोल गरेपछि टोलीले चर्च ब्वाइजसँग २–२ को बराबरी गरेको हो । यो नतिजासँगै दुवै टोलीले अंक बाँडेका छन् ।
बराबरीसँगै संकटाले लिगमा १९ अंक बनाएको छ । संकटाले नौ खेल खेल्दा ६ जित, एक बराबरी र दुई हारसहित १९ अंक जोडेको हो । उसले अब १०औँ खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । खेल बुधबार (साउन १४ गते) दिउँसो १ बजे हुनेछ ।
चर्च ब्वाइजले लिगमा १४ अंक बनाएको छ । चर्च ब्वाइजले नौ खेल खेल्दा चार जित, दुई बराबरी र तीन हारबाट १४ अंक जोडेको हो । उसले १०औँ खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । खेल आउँदो शुक्रबार (साउन १६ गते) दिउँसो १ बजे हुनेछ ।