काठमाडौं । थाइल्यान्ड र कम्बोडिया चार दिनदेखि चलिरहेको द्वन्द्व अन्त्यका लागि वार्ता गर्न सहमत भएका छन् । सोमबार मलेसियामा भेट्ने सहमति गरेका हुन् ।
आइतबार थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाइको नेतृत्वमा एक प्रतिनिधिमण्डलले भाग लिने बीबीसीले बताएको छ ।
यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दुवै देशका नेताहरूलाई तत्काल युद्धविरामको लागि दबाब दिन फोन गरेपछि भएको बताइएको छ ।
थाई सरकारले मलेसियाबाट कम्बोडियाका प्रधानमन्त्री हुन मानेत पनि वार्तामा सहभागी हुने जानकारी प्राप्त भएको बताएको छ ।
२४ जुलाईमा सीमा क्षेत्रमा लडाइँ सुरू भएदेखि कम्तीमा ३३ सैनिक र सर्वसाधारणको मृत्यु भएको छ भने हजारौँ थाई र कम्बोडियाली नागरिक विस्थापित भएका छन् ।
स्कटल्यान्डमा आफ्नो गल्फ कोर्सको निजी भ्रमणको सुरूआतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल सामाजिक सञ्जालमा पोष्ट गर्दै दुवै देशहरूले तत्काल भेटेर छिट्टै युद्धविराम र शान्ति कायम गर्न सहमत भएको बताएका थिए ।
दुवै देशले उनको चासो र प्रयासको लागि धन्यवाद दिए । यद्यपि, आइतबार रातिसम्म गोलाबारी जारी रह्यो ।
कम्बोडियाले उनको युद्धविरामको अनुरोध स्वीकार गर्यो, जबकि थाइल्यान्डले दुई देशबीच संवादको आवश्यकता रहेकोमा जोड दिएको थियो ।
कम्बोडियाले पहिल्यै युद्धविराम प्रस्ताव गरेको थियो किनभने उसको सेना थाइल्यान्डको सेनाभन्दा कमजोर रहेको बताइएको छ ।