site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिका–ईयू व्यापार सम्झौता : अमेरिकाले १५ प्रतिशत ट्यारिफ लगाउने

काठामाडौं । अमेरिका र युरोपेली संघ (ईयू)ले आइतबार एक व्यापार सम्झौतामा सहमति जनाएका छन् । अब ईयूका धेरैजसो उत्पादनहरूमा अमेरिकामा १५ प्रतिशत ट्यारिफ लाग्नेछ । 

विश्व व्यापारमा लगभग एक तिहाइ हिस्सा राख्ने यी दुई साझेदारहरूले यो सम्झौतामार्फत ठूलो व्यापारिक विवादलाई टारेका बताइएको छ ।

सम्झौताको घोषणा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच स्कटल्यान्डस्थित गल्फ रिसोर्टमा भएको वार्तापछि गरिएको हो ।

ट्रम्पले भोन डेर लेयेनसँग एक घण्टाको बैठकपछि मिडियासँग यो अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता बताए । लेयेनले १५ प्रतिशत ट्यारिफ सबै क्षेत्रमा लागु हुने बताइन् ।

उनले थपिन्, “विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच व्यापार सम्झौताभएको छ । यो धेरै ठूलो सम्झौता हो । यसले स्थिरता ल्याउनेछ ।” 

सम्झौता अनुसार ईयूले अमेरिकामा ६०० अर्ब डलरको लगानी गर्नेछ र त्यसबाहेक अमेरिकाबाट इन्धन र सैन्य उपकरणहरू पनि खरिद गर्नेछ । 

यद्यपि, युरोपमा धेरैले १५ प्रतिशत ट्यारिफलाई नराम्रो मान्नेछन्, तर ट्रम्पको ३० प्रतिशत ट्यारिफको धम्कीको तुलनामा यो राम्रो हो । यो सम्झौता गत हप्ता जापानसँग भएको अमेरिकाको सम्झौतासँग मिल्दोजुल्दो छ ।

ट्रम्पले भने, “हामीले अटोमोबाइल र अन्य सबै सामानहरूमा १५ प्रतिशतको सिधा ट्यारिफमा सहमति जनाएका छौँ ।” 

यद्यपि, यो दर स्टील र आल्मुनियममा लागु हुने छैन, जसमा ५० प्रतिशत ट्यारिफ कायम रहनेछ ।

अन्तर्राष्टिय अर्थतन्त्रलाई पुनर्संरचना गर्ने र दशकौँ पुरानो अमेरिकी व्यापार घाटालाई कम गर्ने प्रयासमा रहेका ट्रम्पले हालसम्म बेलायत, जापान, इन्डोनेसिया र भियतनामसँग सम्झौता गर्न निकै मेहनत गरेका छन् । यद्यपि, उनको प्रशासनले ९० दिनमा ९० सम्झौता गर्ने आफ्नो वाचा पूरा गर्न असफल भएको छ । 

स्कटल्यान्ड पुगेपछि आइतबार ट्रम्पले युरोपेली संघले चाँडै सम्झौता गर्न चाहेको बताएका थिए । भोन डेर लेयेनसँगको भेटमा उनले युरोपले अमेरिकासँग धेरै अन्याय गरेको पनि बताए । 

ट्रम्पले भने, “हाम्रो मुख्य समस्या युरोपेली संघसँगको अमेरिकी व्यापार घाटा हो, जुन अमेरिकी जनगणना ब्यूरोको तथ्यांक अनुसार २०२४ मा २३५ अर्ब डलर पुगेको छ ।” बीबीसी

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०७:२२
प्रतिक्रिया दिनुहोस्