
काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् । सिनियर रजिस्ट्रार पौडेललाई न्याय सेवा आयोगले मुख्य रजिस्ट्रारमा पौडेललाई सिफारिस गरेको हो ।
उनको बढुवासँगै रिक्त हुने रजिस्ट्रारमा मानबहादुर कार्की सिफारिस भएका छन् ।
अब मन्त्रिपरिषद्बाट निर्णय भएपछि उनीहरूको नियुक्ति हुनेछ ।
पौडेलले सर्वोच्चको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । मुद्दा शाखाको प्रमुख भएर काम गरेका पौडेल गत पुसमा रजिस्ट्रार नियुक्त भएका थिए । उनले सर्वोच्चको योजना तथा अनुसन्धान, प्रशासनसहित महत्त्वपूर्ण महाशाखाको नेतृत्व गरिसकेका छन् ।
पौडेलले छात्रवृत्तिमा बेलायतबाट स्नातकोत्तर र अमेरिकाको हम्फ्रे छात्रवृत्तिअन्तर्गत युनिभर्सिटी अफ मिनिसोटाबाट थप डिग्री हासिल गरेका छन् ।
मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल उमेर हदका कारण आजैदेखि अवकाश पाएका छन् ।