काठमाडौं । एन्फा यू–१६ युथ लिगमा मछिन्द्र क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ५–० को फराकिलो जित निकालेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा मछिन्द्रलाई जित दिलाउन अर्जुन बहादुर कडायतले दुई गोल गरे । प्रज्ञान राई, हिमाल थिङ र विकास थापाले समान एक–एक गोल थपे ।
खेलको छैटौँ मिनेटमा अर्जुनको गोलमा मछिन्द्रले अग्रता बनाएको थियो । जसलाई नवौँ मिनेटमा उनैले दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी टाइममा प्रज्ञानले गोल गरेपछि मछिन्द्रले अग्रतालाई ३–० मा पुर्याएको थियो ।
७७औँ मिनेटमा हिमालले गोल गर्दै मछिन्द्रको अग्रतालाई ४–० मा पुर्यायो । खेलको इन्जुरी टाईममा विकाशले गोल गरेपछि मछिन्द्रले ५–० को जित पक्का गर्यो ।
जितसँगै मछिन्द्रले लिगमा नौ खेलबाट २० अंक जोडेको छ । मछिन्द्रले यसक्रममा ६ जित, दुई बराबरी र एक हारको नतिजा आत्मसात गरेको छ । मछिन्द्रले अब १०औँ खेलमा हिमालयन शेर्पा क्लबसँग सोमबार खेल्ने तालिका छ ।
आर्मीले भने नौ खेल खेल्दा ६ अंकमात्रै जोडेको छ । आर्मीले अब १०औँ खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्ने तालिका छ ।