
काठमाडौं । महिला कबड्डी विश्वकपको दोस्रो संस्करण फेरि स्थगन गरिएको छ ।
भारतको हैदराबादस्थित गाचीबोली रंगशालामा आउँदो अगस्ट ३ देखि १० सम्म प्रतियोगिता हुने तय थियो । अन्तिम समयमा प्रतियोगिता अनिश्चितकालका निम्ति स्थगन गरिएको हो ।
प्रतियोगिता यसअघि गएको जुन महिनामै विहारको राजगरमा हुने तय थियो । त्यति बेला पनि आयोजकले अन्तिम समयमा प्रतियोगिता स्थगन गरेका थिए । विहार राज्य सरकारले प्रतियोगिता आयोजना गर्न नमान्दा स्थगन गरिएको थियो ।
यसपटक सहभागी टिमले निर्धारित समयमसम्म विवरण नबुझाएकाले प्रतियोगिता स्थगन गर्नुपरेको भारतको एमेच्योर कबड्डी संघ (एकेएफआई)ले जनाएको छ ।
प्रतियोगिता स्थगन गरिए पनि प्रतिस्पर्धी राष्ट्रको संख्यामा घटबढ नहुने भएको छ । नयाँ तालिका केही समयभित्रै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको यो संस्करणमा नेपालले पनि सहभागिता जनाउने तय छ । नेपालसँगै अर्जेन्टिना, बंगलादेश, चाइनिज ताइपेई, जर्मनी, नेदरल्यान्ड्स, इरान, जापान, केन्या, थाइल्यान्ड, युगान्डा, जान्जिबार, पोल्यान्ड र आयोजक भारतको सहभागिता रहनेछ ।