
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन नीति २०८२ सार्वजनिक गरेको छ । सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन नीति २०८२ सार्वजनिक गरेका हुन् ।
पर्यटन नीति सार्वजनिक गर्दै मन्त्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट पारे । निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिने भएकाले प्राथमिकतामा राखेको उनको भनाइ छ ।
उनले संस्कृति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ वटा विधेयक समेत अघि बढिसकेको उल्लेख गरे ।
मन्त्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटनीति २०८२’ मा ‘अद्धितीय पर्यटकीय गन्तव्य : नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको जानकारी गराए । नेपाललाई आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्यका रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको उनले बताए ।