site stats
बाह्रखरी :: Baahrakhari
खेल
सातदोबाटो नवौँ चरणसम्म जितविहीन

काठमाडौं । सातदोबाटो युथ क्लब एन्फा यू–१६ युथ लिगको नवौँ चरणसम्म आइपुग्दा जितविहीन बनेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न नवौँ चरणको खेलमा सातदोबाटो हिमालयन शेर्पा क्लबसँग १–० ले पराजित भएको हो ।

सातदोबाटो यसअघि मनाङसँग ३–०, प्लानिङ ब्वाइज युनाइटेडसँग ४–०, भगवतीसँग ६–०, मछिन्द्रसँग १२–१, चर्च ब्वाइजसँग ९–२, पुलिससँग ८–०, संकटासँग ५–१ र आर्मीसँग ४–१ ले पराजित भएको थियो । 

सोमबार हिमालयनको जितमा अभि राईको गोल निर्णयक बन्यो । हिमालयनले अभिले दिलाएको अग्रतालाई जोगाउँदै जित पक्का गरेको हो । अभिले खेलको ४१औँ मिनेटमा अग्रता दिलाएका थिए । 

जितसँगै हिमालयनले १४ अंक जोडेको छ । हिमालयनले चार जित, दुई बराबरी र तीन हारबाट १४ अंक बनाएको हो । अब उसले १०औँ खेलमा मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल आउँदो आइतबार (साउन १८ गते)  बिहान १० बजे हुनेछ । 

लिगको पुछारमा रहेको सातदोबाटो भने अंकविहीन छ । उसले नौ खेलमा ५४ गोल बेहोरेको छ । उसले अब पहिलो जितको निम्ति १०औँ खेलमा जावलाखेल युथ क्लबसँग खेल्नेछ । खेल आगामी आइतबार (साउन १८ गते) दिउँसो १ बजे हुनेछ । 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  २३:१३
प्रतिक्रिया दिनुहोस्