काठमाडौं । नेदरल्यान्ड्सले इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिच र सुरक्षामन्त्री इतमार बेन–ग्विरलाई देश प्रवेशमा रोक लगाएको छ ।
टाइम्स अफ इजरायलका अनुसार, यी दुवैजनामाथि गाजामा हिंसा भड्काएको आरोप छ । नेदरल्यान्ड्सभन्दा पहिले ६ देशले यी दुई नेतालाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइसकेका छन् ।
डच विदेशमन्त्री क्यास्पर वेल्डक्याम्पले यो निर्णय यी मन्त्रीहरूले बारम्बार प्यालेस्टिनीहरूमाथि हिंसा भड्काएको, अवैध यहूदी बस्तीहरूको विस्तारको वकालत गरेको र गाजामा जातीय सफाया गर्ने कुरा गरेको कारणले लिइएको सोमबार बताए ।
वेल्डक्याम्पले इजरायली राजदूतलाई नेदरल्यान्ड्समा बोलाएर नेतन्याहू सरकारलाई आफ्नो व्यवहार परिवर्तन गर्न अपील गरिने पनि बताएका छन् ।
उनले हालको अवस्थालाई अत्यन्तै खराब बताउँदै नेदरल्यान्ड्स हमासमाथि युद्धविरामका लागि दबाब बढाउन पनि तयार रहेको उल्लेख गरे ।
नेदरल्यान्ड्सको यो निर्णयमा इजरायली मन्त्री इतमार बेन–ग्विरले असन्तुष्टि व्यक्त गरेका छन् । उनले पूरै युरोपले प्रवेशमा रोक लगाए पनि इजरायलका लागि काम गरिरहने मंगलबार बताए ।
उनले हमासलाई नष्ट गर्न र इजरायली सैनिकहरूको समर्थन गर्न माग गरे । उनले युरोपमाथि सधैँ पीडितहरूलाई दोषी ठहराउने आरोप लगाए ।
बेन–ग्विरले भने, “युरोप त्यस्तो ठाउँ हो जहाँ आतंकवादलाई सहन गरिन्छ र आतंकवादीहरूको स्वागत हुन्छ । त्यहाँ आतंकवादीहरू स्वतन्त्र रूपमा हिँड्छन् र यहूदीहरूको बहिष्कार गरिन्छ ।”
बेन–ग्विर पहिले इजरायलमा नस्लवाद भड्काएको र आतंकवादी संगठनलाई समर्थन गरेको अभियोगमा दोषी ठहरिएका थिए । यद्यपि, अहिले उनी इजरायलका राष्ट्रिय सुरक्षामन्त्री छन् र स्मोट्रिच वित्तमन्त्री छन् ।
उल्लेखनीय के छ भने इजरायली मन्त्रीहरू बेन–ग्विर र स्मोट्रिचमाथि प्रवेश प्रतिबन्ध लगाउने नेदरल्यान्ड्स एकमात्र देश होइन । यसअघि ९ जुनमा अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, नर्वे र बेलायतले एकसाथ यी दुवैमाथि प्रतिबन्ध लगाएका थिए ।
यद्यपि, अमेरिकाले यसमा असन्तुष्टि व्यक्त गर्दै यो अनावश्यक भएको बताएको थियो ।