site stats
बाह्रखरी :: Baahrakhari
खेल
एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने टोलीको बिदाइ

काठमाडौं । भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली फुटबल टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार काठमाडौंमा नेपाली यू–२० महिला फुटबल टोलीलाई बिदाइ गरेको हो । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा महासचिव किरण राई लगायतले एसियन कप छनोट खेल्न जाने नेपाली यू–२० महिला टोलीलाई बिदाइ गरेका थिए । 

बिदाइ कार्यक्रममा टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले यसअघि भएका कमीकमजोरीलाई सुधार गर्दै एसियन कप छनोटमा राम्रो नजिता निकाल्ने बताए ।
 
त्यस्तै, कप्तान बिर्सना चौधरीले एसियन कप छनोटका लागि तयारी राम्रो भएकाले नेपालको पक्षमा नजिता आउने उल्लेख गरे ।

टोलीले आगामी भदौ २३ देखि २८ सम्म भुटानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । छनौट चरणको खेलमा नेपाल समूह ‘बी’मा रहेको छ । समूह ‘बी’मा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरब पनि रहेका छन् । 

छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यू–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ । 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्