नेपाली राजनीतिमा सबैभन्दा बढी चर्चा र लेखन हुने व्यक्तित्व वीपी कोइराला हुन् । उनी केवल एक राजनीतिज्ञ मात्र होइनन्, २० औं शताब्दीका अनुकरणीय प्रतिभा थिए । राजनीतिक, मानसिक र शारीरिक यातना भोग्दासमेत उनी कहिल्यै आफ्ना विचार र सिद्धान्तबाट विचलित भएनन् । विचार, व्यवहार र बाणीमा देखिएको तादम्यता नै उनको व्यक्तित्वको सबैभन्दा महत्वपूर्ण पाटो हो ।
सामाजिक परिवर्तनका संवाहकको रूपमा जीवन बिताएका वीपीले विचार र व्यवहारको समन्वयमा अनुकरणीय उदाहरण प्रस्तुत गरे । उनका रचना र साहित्यिक कृतिहरूमा इमान्दार प्रयत्न, आत्मसंघर्ष र सफलताको चेतना पाइन्छ । सुम्निमा उपन्यासजस्ता कृतिहरूमा उनले व्यक्तिको चेतना र हैसियतप्रतिको संवेदनशीलता उजागर गरेका छन् ।
राजनीतिमा आवद्ध भए पनि वीपीमा देखिने सादगी र आत्माभिमुख प्रवृत्ति आजका राजनीतिज्ञहरूमा दुर्लभ छ । यही सन्दर्भमा, ४३औं वीपी स्मृति दिवस आमकांग्रेसजन तथा लोकतन्त्रवादीहरूले श्रद्धासाथ मनाए ।
वीपीको विचारः सादगी र वैचारिक गहिराइ
सन् १९८२ अगस्ट १ मा भारतको अमृत बजार पत्रिकामा प्रकाशित एक अन्तर्वार्तामा वीपीले भनेका थिए, “यतिका वर्ष राजनीतिमा लागे पनि मलाई ठूला स्वागत समारोहले अप्ठ्यारो पार्छ । म कुन उडानबाट आउँदैछु भनेर कहिल्यै बताउँदिन । मलाई स्वागतका लागि एयरपोर्टमा मानिस जम्मा भएको हेर्न मन पर्दैन ।”
वीपीले सार्वजनिक जीवनमा अनावश्यक प्रचारभन्दा काम र विचारमा जोड दिए । सामन्तवाद र उदारवादबीचको सन्तुलन, लोकतन्त्रप्रतिको अडान, समाजवादको नेपाली संस्करण र आन्तरिक आत्मसंघर्षको कथा उनका जीवन र कृतिमा झल्किन्छ ।
बीपीले भारतीय समाजवादी नेता राममनोहर लोहिया, जयप्रकाश नारायणसँग मिलेर ‘एसियाली समाजवाद’को अवधारणा अघि सार्नुभयो । नेपाली समाजको यथार्थलाई बुझेर समाजवाद र लोकतन्त्रको संयुक्त अभ्यासका पक्षपाती उहाँ हुनुहुन्थ्यो ।
राजनीतिक दर्शन र नव नेपाल निर्माणको परिकल्पना
बीपीको विचारहरू केवल सैद्धान्तिक थिएनन् : तिनमा व्यावहारिक योजना र परिवर्तनको स्पष्ट दिशा पाइन्छ । २०१५ सालमा उहाँको नेतृत्वमा बनेको सरकारलाई यदि निरन्तरता दिइएको भए नेपालको विकास र समृद्धिको मार्ग धेरै अघि बढ्ने थियो । तर, राजा महेन्द्रले २०१७ साल पुस १ गते वीपीको नेतृत्व हटाएनन् मात्र होइन, प्रजातान्त्रिक मूल्य र मान्यतालाई नै कुल्चिदिए ।
नेपालमा प्रजातन्त्र प्राप्तिका लागि भारतमा निर्वासन जीवन बिताउँदै आन्दोलन सञ्चालन गर्नु, जेल सजाय भोग्नु र जनमत संग्रहको अपाच्य नतिजासमेत स्वीकार गर्दै राष्ट्रिय मेलमिलापको नीति अघि सार्नु वीपीका जीवनका ऐतिहासिक अध्याय हुन् ।
तरुण सम्मेलन र बीपीको आह्वान
२०१७ साल पुस १ गतेको नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्दैगर्दा बीपी अपदस्त भए । त्यो ऐतिहासिक क्षणमा बीपीले भनेका थिए, “समाजवादको लक्ष्य प्राप्तिको साधन प्रजातन्त्र हो । दुनियाँमा समाजवादको नाममा भएका तानाशाही प्रयोगहरूले भ्रम सृजना भएको छ । हामी समाजवाद र लोकतन्त्रलाई अलग होइन, एउटै आत्माका दुई रूप ठान्छौं ।”
बीपीले चेतावनी दिएका थिए, जहाँ स्वतन्त्रता छैन, न्यायपालिका स्वतन्त्र छैन, जनताले शासकको लेखाजोखा गर्न पाउँदैनन्, त्यहाँ समाजवाद सम्भव छैन । लोकतन्त्रविना समाजवादको कुरा केवल नारा हो, र समाजवादबिना लोकतन्त्र प्राणविहीन शरीरजस्तै हो ।
उनको आह्वान थियो, “समाजवादी तरुणहरूले समाजवाद र लोकतन्त्रलाई विरोधी होइन, पूरक मूल्य मानेर अगाडि बढ्नुपर्छ । हामी न समाजवादको नाममा लोकतन्त्र हत्या गर्न दिन्छौं, न लोकतन्त्रको नाममा शोषण सहन सक्छौं ।”
आजको सन्दर्भमा तरुण दलको दायित्व
२००७ सालको परिवर्तनपछि २०१० सालमा वीपीकै प्रेरणामा स्थापना भएको नेपाल तरुण दल लोकतन्त्र सुदृढ गर्ने युवाशक्ति हो भन्ने विश्वास राखिएको थियो । हिजो ‘वान बुथ १०० युथ’ भन्ने नारादेखि मातृ पार्टीलाई निर्वाचनमा बहुमत पुर्याउने लक्ष्यसम्म तरुण दलको भूमिका उदाहरणीय रह्यो ।
आज पनि नेपाली कांग्रेसलाई ‘पुरानो पार्टी’ भन्दै असान्दर्भिक ठहर्याउने प्रयत्न भइरहेका छन् । तर यही पार्टीले राणा शासन, पञ्चायत, राजतन्त्र र माओवादी सशस्त्र विद्रोहमार्फत आएको अस्थिरतालाई अन्त्य गर्दै लोकतान्त्रिक संविधान निर्माण गराएको छ ।
तरुण दलको आजको प्रमुख दायित्व भनेको मातृपार्टीविरुद्ध खडा गरिएका ‘भ्रम र भाष्य’लाई वैचारिक धरातलका माध्यमबाट खण्डन गर्नु हो । समृद्ध नेपाल निर्माणको अभियानमा कांग्रेसमार्फत मात्रै दीर्घकालीन समाधान सम्भव छ भन्ने सन्देश जनस्तरसम्म पुर्याउनु आवश्यक छ ।
अन्त्यमा
बीपीले तरुणहरूलाई सम्बोधन गर्दै भनेका थिए, “भविष्य उज्वल छ र त्यो भविष्य तपाईंहरूको हो । तपाईंहरूले आफूलाई त्यस उज्वल भविष्यको उत्तराधिकारी छान्नुहोस्, त्यसअनुसार आफूलाई वैचारिक बनाउनुहोस् र कर्तव्य गर्नुहोस् ।”
आज हामी सबै तरुणहरूले यही मार्ग अपनाउने हो भने मात्र बीपीको सपना र विचार साकार हुनेछन् । विचार, संगठन र व्यवहारको सन्तुलन कायम गर्दै लोकतन्त्र र समाजवादको समन्वयमार्फत समृद्ध नेपालको आधारशीला राख्नु नै हाम्रो आजको कर्तव्य हो । यदि यो कर्तव्यमा हामी तरुणहरू चुक्यौं भने इतिहासले हामीलाई दिएको जिम्मेवारी पूरा नगरेको ठहरिनेछ ।
(फुयाल नेपाल तरुण दल उदयपुरकी केन्द्रीय सदस्य हुन् ।)