
काठमाडौं । चीनले रूसबाट तेल खरिद जारी राखे उसमाथि भारी आयात शुल्क (ट्यारिफ) लगाउने अमेरिकाको चेतावनीप्रति चीनको विदेश मन्त्रालयले कडा जवाफ दिएको छ ।
चीनले आफ्ना ऊर्जा आवश्यकताहरूलाई ध्यानमा राख्दै राष्ट्रिय हितअनुसार निर्णय लिने बताएको छ ।
“चीनले सधैँ आफ्ना राष्ट्रिय हितअनुसार ऊर्जा आपूर्ति सुनिश्चित गर्नेछ । ट्यारिफ युद्धमा कसैको जित हुँदैन,” विदेश मन्त्रालयले भनेको छ, “जबरजस्ती र दबाबको नीतिबाट केही हासिल हुँदैन । चीनले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकाससँग सम्बन्धित हितहरूको दृढतापूर्वक रक्षा गर्नेछ ।”
यो भनाइ अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले स्टकहोममा व्यापार वार्ताका क्रममा चिनियाँ अधिकारीहरूलाई चेतावनी दिएपछि आएको हो । वार्तामा उनले बेइजिङले प्रतिबन्धित रूसी तेल खरिद जारी राख्यो भने अमेरिकाले ठूलो आयात शुल्क लगाउनसक्ने बताएका थिए ।
द स्ट्रेट्स टाइम्सका अनुसार, बेसेन्टले चिनियाँ पक्षलाई कंग्रेसमा नयाँ विधेयकले रूसी तेल खरिद गर्ने देशहरूमाथि ५०० प्रतिशतसम्म आयात शुल्क लगाउने अधिकार दिनसक्ने बताएका थिए । उनले यसले अमेरिकी सहयोगीहरूलाई मस्कोको ऊर्जा बेचेर कमाउने अवस्थालाई कमजोर पार्न समन्वयात्मक प्रयासमा अमेरिकाले साथ दिनसक्ने पनि बताएका थिए ।
समाचार एजेन्सी एएनआईका अनुसार चीनले इरानी तेल खरिद गरेको र रूसलाई १५ अर्ब डलरभन्दा बढीको दोहोरो–उपयोग प्रविधि बिक्री गरेकोमा अमेरिका असन्तुष्ट छ । ती वस्तुहरूले मस्कोको युक्रेनमा सैन्य कारबाहीहरूलाई बलियो बनाएको अमेरिकाको बुझाइ छ ।
अमेरिका र चीनको सम्बन्ध पहिलेदेखि नै व्यापार, सुरक्षा र प्रविधिका मुद्दाहरूमा तनावपूर्ण रहँदै आएको छ । रूसबाट तेल खरिद गर्नाले उसलाई युक्रेन युद्धमा आर्थिक सहयोग प्राप्त भइरहेको अमेरिकाको विश्वास छ ।
यद्यपि, चीनले यो तर्कलाई खारिज गर्दै आएको छ । ऊर्जा खरिदलाई राजनीतिक हतियार बनाउन नदिइने बारम्बार दोहोर्याउँदै आएको छ । यो मुद्दालाई लिएर दुई देशहरूबीच तनाव थप बढ्नसक्ने बताइएको छ । टाइम्स अफ इन्डिया