site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको विधान महाधिवेशन व्यवस्थापनका निम्ति यी नेतालाई तोकियो जिम्मेवारी

काठमाडौं । आउँदो भदौमा निर्धारित नेकपा (एमाले)को विधान महाधिवेशनको व्यवस्थापनका निम्ति नेताहरूलाई जिम्मेवारी तोकिएको छ । बुधबार (साउन १४) बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकबाट विभिन्न नेतालाई महाधिवेशन व्यवस्थापनको जिम्मेवारी दिइएको हो ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा महाधिवेशनका प्रतिनिधिको संख्या यकिन गर्न संगठन विभागलाई जिम्मा दिइएको छ । १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कतिको मृत्यु भयो वा पार्टी छोडे ती सबै विषय यकिन गर्न संगठन विभागलाई जिम्मा दिइएको केन्द्रीय कार्यालयका प्रमुख डा. भीष्म अधिकारीले जानकारी दिए ।

यस्तै, स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ ।

महाधिवेशनको स्वयंसेवक परिचालनको जिम्मा पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई दिइएको छ ।

सचिवालय र खानाको व्यवस्थापनको जिम्मा कार्यालय सचिव डा. अधिकारीलाई दिइएको छ ।

यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठलाई दिइएको छ ।

महाधिवेशन प्रचारको जिम्मा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमलाइ दिइएको छ ।

स्वागत नृत्यसहित विविध सांस्कृतिक कार्यक्रमका निम्ति केन्द्रीय सदस्य हेमराज राईलाई जिम्मा दिइएको डा. अधिकारीले जानकारी दिए ।

महाधिवेशनका प्रतिनिधिले आवासको व्यवस्थ आफैँ गर्नुपर्ने हुन्छ । आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने निर्णय गरिएको छ । यसनिम्ति उक्त विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ ।

विधान महाधिवेशनमा २२ सय ७९ प्रतिनिधि सहभागी हुनेछन् । एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने तय छ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्