
काठमाडौं । भारतीय च्याम्पियन्स टिमले वर्ल्ड च्याम्पियनसिप अफ लेजेन्ड्समा पाकिस्तानसँग सेमिफाइनल खेल खेल्न अस्वीकार गरेको छ ।
भारतले बिहीबार इंग्ल्यान्डको बर्मिङघममा पाकिस्तानविरुद्ध खेल्ने तालिका थियो । तर, काश्मीरको पहलगाममा आतंकवादी आक्रमणपछि चुलिएको यी दुई छिमेकीबीचको तनावको असर खेलमा समेत परेको हो ।
भारतले पहलगाम हमलामा पाकिस्तान संलग्न रहेको आरोप लगाउँदै आएको छ । उक्त आक्रमणलाई कारण देखाउँदै भारतीय च्याम्पियन्स टिमले पाकिस्तानसँगको खेल खेल्न अस्वीकार गरेको हो ।
भारतले नखेल्ने भएपछि आयोजकले सेमिफाइनलका निम्ति बिक्री गरेका टिकट दर्शकलाई फिर्ता गरेको छ । भारतको यो निर्णयपछि पाकिस्तानले फाइनल यात्रा तय गरेको छ ।
दुई देशबीचको राजनीतिक तिक्तताका कारण भारत र पाकिस्तानले सन् २०१३ देखि नै दुईदेशीय क्रिकेट शृंखला खेलेका छैनन् । यी दुई टिमले एकार्काबीच एसियन क्रिकेट काउन्सिल (एसीसी) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को प्रतियोगितामा मात्र प्रतिस्पर्धा गर्दै आएका छन् ।