
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले प्यालेस्टाइन राज्यलाई मान्यता दिने घोषणा गरेपछि व्यापार सम्झौता गर्न धेरै कठिन हुने बताएका छन् । प्यालेस्टाइनलाई मान्यता दिने कदमले अमेरिका–क्यानडा व्यापार सम्झौतालाई खतरामा पारेको उनले बताएका हुन् ।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, “वाह ! क्यानडाले भर्खरै प्यालेस्टाइनको राज्यलाई समर्थन गर्ने घोषणा गरेको छ । यसले हामीलाई उनीहरूसँग व्यापार सम्झौता गर्न धेरै कठिन बनाउनेछ । ओ क्यानडा !!!”
यदि, आज व्यापार सम्झौता नभएमा क्यानडाले अमेरिकामा बिक्री गर्ने अधिकांश सामानमा ३५ प्रतिशत भन्सार शुल्कको सामना गर्नुपर्नेछ ।
प्यालेस्टाइन राज्यलाई मान्यता दिने क्यानडाको निर्णय बेलायत र फ्रान्सको समान घोषणापछिको हो । गाजामा भोकमरी संकट गहिरिँदै गएका बेला यस्तो घोषणा गरिएको छ ।
बुधबार हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले कुपोषणका कारण थप सातजनाको मृत्यु भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
बुधबार ओटावामा क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले आफ्नो देशले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई मान्यता दिने योजना बनाएको बताएका थिए ।
उनले कब्जा गरिएको वेस्ट बैंकका केही भाग सञ्चालन गर्ने प्यालेस्टाइनी प्राधिकरणले आवश्यक सुधार गर्नुपर्ने बताए । हमासले भविष्यमा कुनै भूमिका खेल्न नहुने उनको भनाइ थियो ।
प्यालेस्टाइनी प्राधिकरणका राष्ट्रपति महमूद अब्बासले क्यानडाको उक्त निर्णयलाई ऐतिहासिक भन्दै स्वागत गरेका छन् ।