
काठमाडौं । पाकिस्तानले चीनको सिचाङ स्याटेलाइट लन्च सेन्टरबाट आफ्नो रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस्तो जानकारी दिइएको बीबीसी हिन्दीले जनाएको छ ।
“यो स्याटेलाइटले उच्च गुणस्तरका तस्बिर पठाउनेछ, जसले पाकिस्तानलाई सहरहरूको योजना बनाउन, सडक र भवनहरूको विकास गर्न, प्राकृतिक प्रकोपको सामना गर्न, कृषिमा निगरानी गर्न, जलवायु परिवर्तन बुझ्नजस्ता कार्यमा राम्रो उपयोग गर्न मद्दत गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।
उक्त स्याटेलाइट पाकिस्तानको अन्तरिक्ष एजेन्सी सुपार्कोले चीनका कम्पनी सीईटीसी र माइक्रोसेटसँग मिलेर तयार गरेको जनाइएको छ ।
यसको उद्देश्य देशको विकासलाई अगाडि बढाउन र जनताको जीवनलाई सुधार गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ ।