site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानमा इमरान खानको पार्टीका १६६ नेतालाई १० वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानको आतंकवाद विरोधी अदालत (एटीसी)ले बिहीबार पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरिक–ए–इन्साफ’ (पीटीआई)का १६६ नेता र कार्यकर्तालाई १०–१० वर्षको जेल सजाय सुनाएको छ । 

सजाय पाउनेमा विपक्षी नेता उमर अयूब, सिनेटका विपक्षी नेता शिबली फराज, जरताज गुल र हमिद रजाजस्ता ठूला नामहरू समावेश छन् । 

यो सजाय ९ मे २०२३ मा आईएसआई भवन र सैन्य अखडाहरूमाथि भएको आक्रमणको मुद्दामा दिइएको हो ।

त्यस दिन इमरान खानको गिरफ्तारीपछि पार्टी समर्थकहरूले जिन्ना हाउस (लाहोर), मियाँवाली एयरबेस, रावलपिण्डीको सेना मुख्यालय र फैसलाबादको आईएसआई भवनजस्ता सैन्य अखडाहरूमाथि आक्रमण गरेका थिए । 

अदालतले फैसलाबादको प्रहरी चौकीमाथि भएको आक्रमणको अर्को मुद्दामा पनि ५८ जनालाई १० वर्षको जेल सजाय सुनाएको छ । हालसम्म कुल १४ सांसदलाई अयोग्य घोषित गरिएको छ । 

पीटीआईले अदालतको यो फैसलालाई राजनीतिक प्रेरणाबाट प्रेरित भएको बताएको छ । साथै, यो फैसलामार्फत पार्टीका नेतालाई संसद् र सिनेटबाट बाहिर निकाल्ने प्रयास भइरहेको दाबी गरेको छ । 

पार्टीका अन्तरिम अध्यक्ष गोहर अलीले यो फैसलालाई लाहोर उच्च अदालतमा चुनौती दिने बताएका छन् ।

यसअघि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सन् २०२२ को अप्रिलमा भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरी पदबाट हटाइएको थियो र सन् २०२३ को अगस्टदेखि उनी जेलमा छन् ।

उनको भतिजा हसन खानलाई पनि सैन्य अदालतले १० वर्षको जेल सजाय सुनाएको छद। इमरानकी बहिनी अलीमा खानले उनका छोराहरू सुलेमान र कासिम ५ अगस्तदेखि सुुरू हुने पीटीआईको देशव्यापी प्रदर्शनमा सहभागी हुन पाकिस्तान आउने बताएकी छन् । 

यसबारे पञ्जाब सरकारले चेतावनी दिँदै यदि उनीहरूले कुनै हिंसात्मक प्रदर्शन गरेमा उनीहरूमाथि कडा कारबाही गरिने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्