
काठमाडौं । रुसले पूर्वी युक्रेनको चासिव–यार सहर आफ्नो सेनाले कब्जा गरेको दाबी गरेको छ । त्यहाँ करिब १८ महिनादेखि लडाइँ चलिरहेको थियो ।
युक्रेनले रुसी सेनाले चासिव–यारनजिकका स्थानमा आक्रमण गरेको पुष्टि गरेको छ । यो सहर बखमुतबाट केही माइल पश्चिममा अवस्थित छ ।
तर, युक्रेनले सहर गुमाएको अस्वीकार गरेको छ । “चासिव–यार अझै ११औँ आर्मी कोरको नियन्त्रणमा छ,” कोरले बिहीबार भनेको छ ।
रुसी रक्षा मन्त्रालयले ड्रोन फुटेज सार्वजनिक गर्दै आफ्ना सैनिक सहरका केही भागमा पुगेका र चार हजार २०० भन्दा बढी भवन र संरचना खाली गराइएको साथै करिब ५० युक्रेनी सैनिकलाई बन्दी बनाइएको जनाएको छ ।
चासिव–यारमा युद्धपूर्व जनसंख्या १२ हजार थियो । तर, दुई वर्षदेखि जारी हवाई र स्थल आक्रमणबाट सहर ध्वस्त भएको छ ।
रुसी सेनाले गत वर्ष अप्रिलमा बखमुतबाट युक्रेनी सैनिकलाई बाहिर धकेलेपछि चासिव–यारमा आक्रमण थालेको थियो ।
युक्रेनको ओपन–स्रोत म्यापिङ साइट ‘डीपस्टेट’ले युद्धको अग्रमोर्चामा किभका सैनिक अझै सहरको पश्चिमी किनारमा रहेको देखाएको छ ।
रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको भिडियोमा दुई छिमेकी क्षेत्रमा झन्डा गाडिएको देखाइए पनि उक्त भूभाग रुसको नियन्त्रणमा नरहेको डीपस्टेटले जनाएको छ ।
दाबी पुष्टि भए चासिव–यारको कब्जाले रुसी सेनालाई उच्च भूभाग उपहार मिल्नेछ । र, डोनेत्स्क क्षेत्रका स्लोभियान्स्क, क्रामातोस्र्क र कोस्तियान्तिनिभ्काजस्ता युक्रेनका सहरबाट आउन सक्ने खतरा झेल्न सहज हुन्छ ।
यी सहरमा रुसी मिसाइल र विमानबाट प्रक्षेपित ग्लाइड बमले समय–समयमा आक्रमण गर्ने क्रम जारी छ । बिहीबार क्रामातोस्र्कमा गरिएको आक्रमणमा एउटा पाँचतले भवनको केही भाग ध्वस्त हुँदा एकजनाको मृत्यु भएको छ । करिब एक दर्जन मानिस घाइते भएका स्थानीय सैन्य प्रशासनले जनाएको छ ।
डोनेत्स्क क्षेत्रभरि रुसी सेनाले यो वर्ष भारी हताहतका बाबजुद अग्रसरता जारी राखेको छ । रणनीतिक सहर पोक्रोभ्स्क तीनतर्फबाट घेरिएको छ । र, रुसी सैनिक डोनेत्स्क र डिनिप्रोपेट्रोभ्स्क क्षेत्रको सीमासम्म पुगेका छन् ।
विश्लेषकका अनुसार, रुसी सेनाले आफ्नो रणनीति परिवर्तन गर्दै युक्रेनी ड्रोन रक्षालाई छल्न पैदल वा मोटरबाइकमा साना समूहमा अघि बढ्ने तरिका अपनाएको छ । सीएनएनबाट ।