site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कवितामा जीवनकथा

नेपाली कविताका पुस्तकप्रेमीमाझ नयाँ पुस्तक आएको छ, ‘युद्ध, युद्ध नै हुन्छ’ शीर्षकमा । युवराज अधिकारीद्वारा लेखिएको प्रस्तुत कवितासंग्रह भर्खरै छापिएको हो ।

सानै उमेरदेखि साहित्यमा लगाव राख्दै आएका अधिकारीले स्कुल पढ्दाताका नै ‘मेरा चित्कारहरू’ शीर्षकमा कवितासंग्रह प्रकाशन गरिसकेका थिए ।

कवि भएर टिकिरहनु, त्यो पनि कठिन परिवेशमा । यो कविताप्रतिको स्नेह हो । उनको यो काव्यस्नेह उच्चकोटीको छ । ‘देउरालीको फूल’ गीति एल्बममार्फत नेपाली गीतसंगीतका क्षेत्रमा पनि उनी स्थापित रहेका छन् ।

कवि युवराज अधिकारीसँग नजिकबाट परिचित हुन नपाए पनि उनका सिर्जनाबाट भने परिचित नै छु । सरल र सहजतासाथ प्रस्तुत हुने कविको प्रस्तुति वास्तवमै लोभलाग्दो छ । उनको पछिल्लो कृति ‘युद्ध, युद्ध नै हुन्छ’ भित्रका ३३ कविताले नेपाली कविताका पाठक मन जित्न सफल देखिएको छ ।

कवि अधिकारी आफ्नो लेखनमा यथार्थपरक दृष्टिकोण अपनाउँदै समाजका विविध पक्षहरूलाई उजागर गर्न रुचाउँछन् । उनका कविताहरूमा मानवीय संवेदना, समाजका विसंगति र राजनीतिक विकृतिहरूको प्रस्ट चित्रण पाइन्छ ।

कविले कवितामार्फत सरल, बोधगम्य शैलीका विम्बले कवितालाई सजाएका छन् । सधँै सबैले पोख्ने वेदना उनीबाट पोखिएका देखिँदैन, यसलाई पृथक् प्रस्तुतिबाट प्रयोग गर्नु कविको विशेषता हो भन्ने मलाई लाग्छ ।

त्यसैले पनि यी कविताहरू प्रगतिशील, राष्ट्रवादी, जनपक्षीय र परिवर्तनकामी समाजको निमार्णमा जोड दिँदै देश र समाजप्रति उत्तरदायी तथा सकारात्मक सोचको निमार्णमा महत्त्वपूर्ण भूमिका खेल्न सफल छन् ।

कवि पनि यही समाजका एक पात्र हुन् । यही समाजलाई कविको हेर्ने मिहिन तरिकाले नै उनलाई आमकविको कित्ताबाट अलग बनाएको छ भने कविको भीडमा चिन्न सक्ने बेग्लै सामर्थ्य अधिकारीका कविताले बनाएको छ ।

संग्रहभित्रका कविता जीवन्त छन् । यसभित्र हरेकका जीवनसँग मेल खाने कविताहरू छन् । कविता पढ्ने मान्छेले कवितामा जब आफ्नो समाज र भोगेको समयको जीवन भेट्छ, अनि कविता सफल हुन्छ । कविता सफल भएपछि कवि सफल नहुनेमा दुई मत रहन्न ।

हामी कविता कसका लागि लेखिरेहका छौँ ? कहिलेकाहीँ केही कवि यस्ता कुरा बिर्सिन्छन्, अनि कवितालाई क्लिष्ट बनाउँछन् । कवितामा आउने यस्ता क्लिष्टताले नेपाली कविताको पाठक पक्कै कम हुन्छ ।

तथापि, सबै कविमा त्यो लागु हुँदैन । सरल विम्बमा समाज उतार्ने कवि पनि धेरै छन् । त्यस्तै सहज र सरल भावमा मनका यथार्थ पोख्ने कवि युवराज अधिकारीको कवितासंग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ भित्रका कविताहरू मानवीय पक्षलाई विशेष ध्यानमा राखेर लेखिएका उम्दा भावअभिव्यक्ति हुन् ।

मान्छेका जीवनका पाटालाई पत्रपत्रमा केलाएर जीवनका कथा शब्दमार्फत उन्ने काम कवि अधिकारीले ‘युद्ध, युद्ध नै हुन्छ’ मा प्रस्तुत गरेका छन् । कवितामा भुइँमान्छे पीडामा जलेर, छालहरूसँगै बगेर पनि जीवनमा विश्वासको पहाडजस्तै उभिन सक्ने बनेका छन् ।

तिनको आस्थालाई कहीँ कतैबाट डगमगाउन नदिने प्रयत्न स्वयम्ले गरिरहेका कैयौँ प्रसंग कवितामार्फत प्रस्तुत भएका छन् । त्यसैले पनि यी कविता कविता नभएर जीवनका सुन्दर दस्ताबेज भएर प्रस्तुत भएका छन् भनिदिँदा हुन्छ ।

कविताको अर्को महत्त्वपूर्ण पक्ष भनेको सकारात्मक सोचको प्रवाह गर्नु पनि हो । उज्यालोको आशा भरोसा, त्यो अँध्यारो पक्ष पनि जीवनको महत्त्वपूर्ण क्षणका रूपमा रहेको अनुभव गर्न सकिन्छ ।

जब दुःखका दिन आउँछन्, त्यहाँ सुखका पाटाहरू पनि हुन्छन् भन्ने तथ्य कविताका हरफमा स्पष्ट रूपमा उभ्भिएका छन् । आँसु पिएर हाँस्न जानेकाहरू अरूका लागि पनि प्रेरणाका स्रोत बनेका कैयौँ उदाहरण छन् । यस कृतिभित्रका कविताले यी पक्षहरूलाई पनि सम्बोधन गरेका छन् ।

कवितामार्फत कविले जीवनलाई थोत्रो गाडीको संज्ञा दिएका छन् । थोत्रो गाडीजस्तै चलेको वर्तमान समयमा जिन्दगीको एउटा यथार्थ भोगाइ हो । अझै यो दृश्य केही वर्षमा भयानक भएर देखिने पक्का छ ।

युवाजति सबै विदेश पलायन भएपछि बचेका बुढापाकाहरू थोत्रा गाडीजस्तै नियति भोग्न बाध्य छन् । त्यसैले स्पष्ट भन्न सकिन्छ, ‘युद्ध, युद्ध नै हुन्छ’ भित्रका कविता मानव जीवनका यथार्थ चित्र हुन् ।

कवितामार्फत शालीन व्यंग्य अनि विद्रोह गर्छन् कवि । ‘यही धर्तीको कुनै कुनामा भोक मार्नलाई पनि रोक लगाइएको छ ।’

मान्छेको स्वरूप भएर पनि हराएका मानवताको खोजी कविले आफ्ना कवितामार्फत गरिरहेको यसले देखाउँछ । वास्तवमा यी कविताहरू पढ्दा लाग्छ, शालीन भाषामा पनि समाजको एउटा कुरूप पक्षलाई उजागर गर्न सकिन्छ । यस्ता मान्छेलाई समयले मात्र खोज्न सक्ने कविको दाबी छ ।

इतिहासले पनि मानवता हराएका मान्छेलाई ठेगान लगाएको हामीले देखेका छौँ ।

‘मर्म, कर्म र धर्म राख्नू, असफलताका मोडहरूमा सफलताको बीज खोज्नू, जिन्दगी आफ्नै हो, आफैँ भएर बाँच्नू’ – हरेक मान्छेले यति कुरा बुझे पुग्छ । ‘युद्ध, युद्ध नै हुन्छ’ भित्रका कवितामार्फत कविले मानव जीवनका धेरै पाटो उधिनेका छन् ।

कवि अधिकारीका कवितामा एक तीरले कैयौँ विकृतिमाथि प्रहार भएका छन्, साधारण हिसाबले बुझ्न कठिन नै हुन्छ । हरेक क्षेत्रमा देखिएको विकृतिले थला पारेका पौरखी हातहरूलाई उत्साह भर्ने काम ‘युद्ध, युद्ध नै हुन्छ’ भित्रका कविताले गरेको पाइन्छ ।

‘युद्ध, युद्ध नै हुन्छ’ कवितासंग्रहमा मझौला आकारका कविताहरू छन् । कवितामा विविधता पनि छ । यसभित्र कतै आमाका कविता भेटिन्छन् त कतै आफूले नै काम गर्ने संस्थाका गौरवगाथा भेटिन्छ । कतै प्रेमभावमा बहेका कविता भेटिन्छन् ।

‘मेरो प्रिय फुच्चे’ शीर्षकको कविताले जनावरप्रतिको प्रेमभाव गहिरोसँग झल्काएको छ ।

यथार्थमा मानवीय संवेदनाका स्वरहरू हुन्, ‘युद्ध, युद्ध नै हुन्छ’ भित्रका कविताहरू ।

युद्ध, युद्ध नै हुन्छ, युद्धले कसैलाई फाइदा भएको देखिएको छैन । कविको निष्र्कष छ, ‘युद्धको झिल्का ज्वालामुखी बन्छ, अनि शक्ति र सत्ताका उन्मादहरू पानीका थोपा हुन्छन् ।’

कहिलेकाहीँ शान्तिप्रिय व्यक्तिले पनि युद्ध देख्नुपर्छ, भोग्नुपर्छ । कवि अधिकारी पनि शान्तिप्रिय व्यक्ति हुन्, उनी सिर्जनामार्फत कठोर बनेर युद्धको विरोध गरिरहेका छन्, यस कविताकृतिमार्फत ।
 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्