साहित्य
सुँगुरलाई हकार्न हुँदैन !

पथिकले
फोहोर पानीमा मस्त खेलिरहेको
एक आत्मप्रसन्न सुँगुर देख्यो
आहालको सम्राट !
खेल त खेल नै हो
जीवनको रूपक हो
पथिक खेलप्रति आकर्षित भयो
नजिक पुग्यो
‘हेलो’ भन्यो
सुँगुर झन् रमायो
झन् उफ्रियो
मस्तीमा !
अचानक
फोहोर पानीका केही छिटा
उसका सुकिला लुगामा परे
ऊ तर्सियो,
तर रिसाएन
सुँगुरसँग के रिस गर्नु ?
उसको विवेकले भन्यो
उसले चाहेको भए
नजिकै गएर सुँगुरलाई हकार्न सक्थ्यो
तर चाहेन
र, हकारेन
उसलाई थाहा थियो
सुँगुर झन् उफ्रिनेछ
उसको सुकिलो लुगामा
फोहोरको बर्सात पर्नेछ
त्यसैले
उसले सुँगुरलाई हेर्यो
फिस्स मुस्कुरायो
चुपचाप हिँड्यो
आफ्नो बाटो
पथिक !
प्रकाशित मिति: शनिबार, साउन १७, २०८२ ०८:४५
प्रतिक्रिया दिनुहोस्