site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाल चर्चा गरिएजस्तो गरिब मुलुक होइन : पोखरेल
शंकर पोखरेल । फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्न सक्नुपर्ने बताएका छन् । रिटर्नी फेडेरेसन नेपालद्वारा केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापित नवयुग इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको शुभारम्भ गर्दै उनले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने बताएका हुन् ।

‘म बनाउँछु मेरो देश’ भन्ने भावनाका साथ लागे नेपाललाई समृद्ध मुलुक बनाउन सकिने उनले उल्लेख गरे । उनले परम्परागत निर्वाहमुखी काम गरेर देश समृद्ध नहुने बताए । परम्परागत ढाँचाले मात्र अघि बढ्दा फेरि अभावकै दुष्चक्रमा फस्नुपर्ने उनको भनाइ थियो ।

“अर्थतन्त्रमा निर्वाहमुखी, पारिवारिक उत्पादनमुखी, गुजारामुखी ढाँचाको रहेको छ । औद्योगिक क्षेत्र पनि कर्पोरेट कल्चरमा ढालिएकै छैन । कम्पनी पारिवारिक कम्पनीकै ढाँचामा छन्,” उनले भने, “कम्पनी साँच्चै पब्लिक बन्न सकेका छैनन् ।”

महासचिव पोखरेलले नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक नभएको उल्लेख गरे । नेपालको सामर्थ्य के छ भन्ने नेपालीले बुझ्न नसकेका उनले बताए । मुलुक भित्रने रेमिट्यान्सको अधिकांश हिस्सा नेपाल आएर काम गर्ने भारतीय कामदारले नै लैजाने गरेका उनले सुनाए ।

फेडेरेसनका अध्यक्ष विनोद भट्टराईले विदेशबाट फर्केकालाई लगानीको वातावरण निश्चित गर्नुपर्ने बताए । रासस
 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्