
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पार्टीभित्रका समस्या समाधानका निम्ति स्थायी कमिटी बैठकमा छलफल चलिरहेको बताएका छन् । शनिबार (साउन १७) राजधानीमा आयोजित एक कार्यक्रममा उनले बैठकबाट पार्टीलाई एकताबद्ध गरेर जाने बताए ।
अर्का उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वबारे सार्वजनिक रूपमा दिएका अभिव्यक्तिका विषयमा माओवादी स्थायी कमिटीमा छलफल भइरहेका बेला पुनको यो भनाइ सार्वजनिक भएको हो । माओवादी नेताहरूले व्यवस्था परिवर्तनका क्रमका बलिदान, त्याग तथा समर्पणको जिम्मा लिनुपर्नेमा उनले जोड दिए । त्यसबाट कोही पनि भाग्न नपाउने उनले उल्लेख गरे । युद्धमा बाँचेकाहरूले इतिहासको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।
नेताहरूलाई जति रिस उठे पनि दायाँबायाँ गर्न र भाग्न नपाउने उनले बताए । इतिहासको जिम्मेवारी नलिने व्यक्ति नेता हुन नसक्ने उनले तर्क गरे । “हामी आन्दोलनबाट आएका जिम्मेवार नेताहरू छौँ । जति रिस उठे पनि, दायाँबायाँ, अघिपछि जे गरे पनि हामी बाँचेकाहरूले आन्दोलनमा भएको त्याग, बलिदान, समर्पण र सबै योद्धाहरूका सपनाको जिम्मा लिनुपर्छ,” उनले भने, “यसभन्दा दायाँबायाँ गर्न कसैले पनि पाउँदैन ।”
पुनले अध्यक्षसहित नेताहरू कमजोरी र आलोचनाभन्दा माथि नभएको बताए । तर, आलोचना मैत्रीपूर्ण र ‘फ्रेन्ड्ली’ वातावरणमा नभए त्यसले रूपान्तरणमा सहयोग नगर्ने उनले धारणा राखे ।
सत्तासीन दल र माओवादीका दुस्मन शक्तिहरूले टुटफुट र विभाजनमा लैजान कोसिस गर्न सक्नेतर्फ सचेत हुन उनले पार्टी नेतृत्व र कार्यकर्तापंक्तिलाई आग्रह गरे । “कसैले पनि हाम्रो त्याग, तपस्या र समर्पणप्रति चलखेल नगरोस् । पार्टीलाई कमजोर पार्ने प्रवृत्ति पार्टीबाहिरबाट नहोस् । त्यसप्रकारका प्रवृत्तिप्रति सर्ब सतर्क हुन जरुरी छ,” उनले भने ।
उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगनायक भएको बताए । प्रचण्ड युगले जन्माएको नेता भएको बताउन हिच्किचाउन जरुरी नरहेको उनको भनाइ थियो ।
फरक प्रसंगमा नेता पुनले नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकताबारे सघन छलफल चलिरहेको खुलाए ।