site stats
बाह्रखरी :: Baahrakhari
कला
तीनकुनेमा ‘भव्य’ सेट बनाएर ‘क्याप्टेन साब’को छायांकन

काठमाडौं । नेपाली चलचित्र ‘क्याप्टेन साब’को छायांकन थालिएको छ । त्यसनिम्ति काठमाडौंको तीनकुनेमा ‘भव्य’ सेट तयार गरिएको छ । ०३० र ४० को काठमाडौं कस्तो थियो भन्ने देखाउने सेट तयार गरेर चलचित्रको छायांकन भइरहेको निर्माणपक्षले जनाएको छ ।

“काठमाडौंको व्यस्त सहरमा हामी दर्जनौँ पक्की नयाँ घर त बनाउन सक्दैनौँ । त्यसैले ३० र ४० को दशकको फिल आउने गरी घरको कलर गरेका छौँ,” निर्देशक दीपेन्द्र के खनालले भने, “त्यो बेलाको काठमाडौं कस्तो थियो भन्ने देखाउन त्यहीअनुसारको कस्ट्युम डिजाइन गरेका छौँ ।”

सेटको तस्बिरमा ३० र ४० को दशकको झल्को देखिन्छ । “जुन कालखण्डको कथा हामी भन्दै छौँ, त्यही समय देखाउने हाम्रो प्रयास हो । हाम्रो बजेट र शिल्पले भ्याएसम्म हामीले गर्ने प्रयास गरिरहेका छौँ,” उनले भने, “त्यसैले हामी सेट लगाएर काम गरिरहेका छौँ ।”

यही साउन १० गतेदेखि यो चलचित्रको छायांकन सुरु गरिएको हो । काठमाडौंबाहेक काभ्रेका धुमखर्क र बेथानचोक, चितवन र पर्साको वीरगन्जमा छायांकन गरिनेछ ।

दीपेन्द्र के खनालले निर्देशन गर्ने ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलट समेत रहेका थापा व्यवसायी तथा सञ्चारउद्यमी हुन् । यो चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।

चलचित्रको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र सृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् । निर्देशक दीपेन्द्रकै लेखन रहेको चलचित्रलाई कृष्णबहादुर थापाले खिचिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्