site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सामाजिक सुरक्षा कोषले चार प्रतिशत ब्याज दिने, ६.५ प्रतिशत लिने

काठमाडौं । सामाजिक सुरक्षा कोषले चालु आर्थिक वर्ष ०८२/८३ का लागि ब्याजदर सार्वजनिक गरेको छ । कोष सञ्चालक समितिले साउन १ गतेदेखि लागु हुनेगरी योगदानकर्ता वृद्धावस्था सुरक्षा योजनामा जम्मा हुने रकममा चार प्रतिशत ब्याज दिने निर्णय गरेको हो । 

योगदानकर्तालाई दिइँदै आएको विशेष सापटीमा ५.६० प्रतिशत र धितोमा आधारित घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटीमा ६.५० प्रतिशत ब्याज उपलब्ध गराइने निर्णय गरिएको छ । धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेको खण्डमा कोषले थप एक प्रतिशत जरिबाना ब्याज लिनेछ । 

कोषले गत आर्थिक वर्ष ०८१/८२ मा २३ लाख ७९ हजार ५८५ योगदानकर्तालाई दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार रुपैयाँ ब्याज बापतको रकम वितरण गरेको थियो । 

योगदानकर्ताको कोषले आर्थिक वर्ष ०८१/८२ मा जम्मा भएको योगदान रकममा ०८१ चैत ४ गतेसम्म ५.५ प्रतिशत र चैत्र ५ देखि पाँच प्रतिशत ब्याजदर दिने निर्णय गरेको थियो । 

यो वर्ष भने कोषले दिने ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएसँगै कोषले योगदनकर्तालाई दिने ब्याजदर पनि घटेको हो । हाल कोषले योगदानकर्ताबाट संकलन गरेको अधिकांश रकम मद्दतीमा राखेको छ ।  

योगदानकर्ता वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममा कोषले दिने ब्याज रकम झिक्न मिल्दैन । ५८ वर्ष पुगेका योगदानकर्ताले निवृत्तिभरण कोषबाट पेन्सन पाउनेछन् । यदि १८० महिनाभन्दा कम योगदान गरेको छ भने उसले पेन्सन वा सम्पूर्ण पैसा झिक्ने, छनोट गर्न पाउनेछ । 

यसका लागि कोषमा योगदान ५८ वर्षको उमेरसम्म गर्नुपर्ने हुन्छ । तर, अवकाश कोषमा जम्मा भएको रकम भने योगदानकर्ताले काम (जागिर) छोडेपछि झिक्न पाउनेछन् । साउन १८ गतेसम्म कोषमा कुल योगदान रकम ८८ अर्ब १३ करोड रुपैयाँ जम्मा भएको छ । कोषमा वैदेशिक रोजगार, औपचारिक, अनौपचारिक, स्वरोजगार गरी कुल २४ लाख १८ हजार योगदानकर्ता सूचीकृत भएका छन् ।  

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्