site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाली यू–२० महिला रग्बी टोली घोषणा

काठमाडौं । नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यू–२० सेभेन्स ट्रफीका लागि नेपाली महिला रग्बी टोली घोषणा गरेको छ ।

आगामी साउन २४ देखि २७ गतेसम्म भारतमा एसिया रग्बी इमिरेट्स यू–२० सेभेन्स ट्रफी २०२५ आयोजना हुँदै छ । यसैका लागि संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो । 

नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही रहेकी छन् । टोली आगामी साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम छ । 

सावित्री पुर्जाको प्रशिक्षणमा टोली छनोट भएको र हाल  सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण भइरहेको संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए । प्रतियोगिता हुने भारतको मौसमसँग मिल्नेगरी टोलीलाई एक महिनादेखि सर्लाहीमा प्रशिक्षणमा राखिएको उनले बताए ।

भारतको बिहारस्थित राजगीर रंगशालामा हुने प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो संस्करणअन्तर्गत यस उमेर समूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो । 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  २१:४२
प्रतिक्रिया दिनुहोस्