काठमाडौं । पाकिस्तानले शान्तिपूर्ण उद्देश्यका लागि आणविक क्षमता विकास गर्ने इरानको अधिकारलाई समर्थन गर्ने जनाएको छ । इरानका राष्ट्रपति मसूद पेजेस्कियन शनिबार पाकिस्तान भ्रमणमा रहेको समयमा पाकिस्तानले यस्तो बताएको हो ।
यस क्रममा दुई देशले आपसी सहयोग वृद्धि गर्न सम्झौताहरूमा हस्ताक्षर गरेका छन् । इरानका राष्ट्रपति मसूद पेजेस्कियन शनिबार इस्लामाबादमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग बैठकपछि संयुक्त प्रेस सम्मेलनमा प्रधानमन्त्री शरीफले इरानलाई शान्तिपूर्ण उद्देश्यका लागि आणविक ऊर्जा प्रयोग गर्ने अधिकार रहेको बताए ।
यो मुद्दा हालै इरान र इजरायलबीचको बढ्दो तनावको मूल कारण बनेको छ । प्रधानमन्त्री शरीफले भने, “पाकिस्तान शान्तिपूर्ण आणविक ऊर्जा प्राप्त गर्ने इरानको अधिकारको पक्षमा उभिएको छ ।”
इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला शरीफको यस्तो भनाइ आएको हो । अमेरिकाले पाकिस्तानलाई प्रमुख गैरनाटो सहयोगीको दर्जा दिँदै इरानको आणविक कार्यक्रमप्रति आपत्ति जनाइरहेको छ । गत जुनमा इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका केही महत्वपूर्ण आणविक लक्ष्यहरूमा हवाई हमला गरेका थिए । त्यसपछि इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)सँगको सहयोग रोकेको थियो ।
प्रेस सम्मेलनमा प्रधानमन्त्री शरीफले इरानविरुद्ध इजरायली हमलाहरूको निन्दा गरे र इरानलाई आत्मरक्षाको पूर्णअधिकार रहेको बताए ।
उनले गाजामा इजरायलका कारबाहीहरूको पनि आलोचना गरे । न्तर्राष्ट्रिय समुदाय, विशेष गरी मुस्लिम देशहरूलाई त्यहाँ भइरहेका मानवअधिकार उल्लंघनहरूप्रति ध्यान दिन आह्वान गरे ।
शरीफले दुई देशले धेरै सम्झौताहरूमा हस्ताक्षर गरेको जानकारी दिए। उनले भने, “पाकिस्तान र इरानको लक्ष्य वार्षिक १० अर्ब अमेरिकी डलरको व्यापार गर्नेछ ।” द इकोनोमिक टाइम्स