
काठमाडौं । जेफ बेजोसको एयरोस्पेस र स्पेस टुरिजम कम्पनी ब्लु ओरिजिनले अगस्ट ३ (स्थानीय समय)मा अन्तरिक्षको अर्को यात्रा गराउने भएको छ । यो उडान अगस्ट ३ मा पश्चिमी टेक्सासबाट प्रक्षेपण गरिनेछ ।
यो उडान ‘एनएस–३४’ ब्लु ओरिजिनको ‘न्यु शेपर्ड’ कार्यक्रमको हिस्सा हो । त्यसले हालसम्म ७० जनालाई अन्तरिक्षको यात्रा गराइसकेको छ ।
त्यसमार्फत मानिसलाई अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सीमा ‘कार्मन’ रेखा पार गराइएको छ । उक्त यात्रामा सहभागी हुने ६ मध्ये एक भारतीय मूलका अमेरिकी नागरिक पनि छन् । मूल रूपमा आगराका बासिन्दा रियल स्टेट लगानीकर्ता अरविन्दर आर्वी सिंह बहल पनि त्यसमा संलग्न रहनेछन् ।
अन्तरिक्षको रोमाञ्चकारी यात्रा
एनएस–३४ मा अन्तर्राष्ट्रिय चालक दल समावेश छन् । यो ब्लु ओरिजिनको न्यु शेपर्ड कार्यक्रमको १४औँ मानवयुक्त मिसन हुनेछ । जबकि, समग्रमा ३४औँ उडान हो ।
यो मिसनको प्रत्यक्ष प्रसारण गरिनेछ । प्रक्षेपणभन्दा ३० मिनेटअघि वेबकास्ट सुरु गरिनेछ । यो उडान केवल रोमाञ्चकारी यात्रा मात्र नभई ६ अन्तरिक्षयात्रीको सहभागिताले विशेष छ ।
११ मिनेटको यात्रा, करोडौँ खर्च
कम्पनीको लक्ष्य मानिसलाई अन्तरिक्षको यात्रा गराउनु हो । त्यसनिम्ति न्यु शेपर्ड नामक रकेट प्रयोग गरिन्छ । त्यो रकेटले यात्रीलाई पृथ्वी र अन्तरिक्षबीचको कार्मन रेखा पार गराउँछ ।
यो यात्रा लगभग ११ मिनेटको हुनेछ । त्यसक्रममा यात्रीले केही मिनेटका निम्ति ‘जिरो ग्राभिटी’को अनुभव गर्नेछन् । यो रोमाञ्चकारी यात्राको खर्च करोडौँमा हुन्छ ।
ब्लु ओरिजिनको उडान बुकिङको मूल्य प्रायः गोप्य राखिन्छ । कम्पनीको वेबसाइटमा उल्लेख भएअनुसार बुकिङ प्रक्रिया सुरु गर्न एक लाख ५० हजार डलरको फिर्तायोग्य रकम आवश्यक हुन्छ ।
टिकटको अन्तिम मूल्य प्रक्रियापछि तय गरिन्छ । र, प्रायः गोप्य नै रहन्छ । एक रिपोर्टमा प्रतिसिटको मूल्य पाँच लाख डलरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।
स्पेस टुरिजममा ठूलो नाम – ब्लु ओरिजिन
जेफ बेजोसको कम्पनी ब्लु ओरिजिन एक एयरोस्पेस र स्पेस टुरिजम कम्पनी हो । सन् २००० मा बेजोसले यसको स्थापना गरेका थिए । यो कम्पनीले मानिसलाई अन्तरिक्षमा लैजाने गर्छ । अन्तरिक्षसँग सम्बन्धित अरू प्रविधि विकास गर्ने काम पनि गर्छ ।
कम्पनी स्पेस टुरिजममा मात्र सीमित छैन । यसले नासासँग सहकार्य गरेर आर्टेमिस मिसनअन्तर्गत चन्द्रमामा अन्तरिक्षयात्री उतार्न ब्लु मून नामक ल्यान्डर विकास गरिरहेको छ । कम्पनीले न्यु ग्लेन नामक अर्को ठूलो रकेटमा पनि काम गरिरहेको छ । त्यो स्याटेलाइटलाई पृथ्वीको कक्षमा स्थापित गर्न र अन्तरिक्षयात्रीलाई चन्द्रमासम्म लैजान सक्षम हुनेछ ।
ब्लु ओरिजिनले धेरै ऐतिहासिक उडान सम्पन्न गरेको छ । तीमध्ये एकमा बेजोस स्वयं सहभागी थिए । कम्पनीले पूर्ण रूपमा महिला चालक दललाई अन्तरिक्षमा पठाएर पनि इतिहास रचेको छ ।