site stats
बाह्रखरी :: Baahrakhari
खेल
पाकिस्तानले जित्यो वेस्ट इन्डिजविरुद्धको शृंखला

काठमाडौं । घरेलु टिम वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम खेलमा १३ रनको जित निकालेसँगै तीन खेलको ट्वान्टी–२० शृंखला पाकिस्तानले जितेको छ ।

सोमबार लौडेरहिलमा सम्पन्न तेस्रो खेलमा पाकिस्तानले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले निर्धारित २० ओभर ब्याटिङ गरे पनि ६ विकेट गुमाएर १७६ रनमात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका ओपनर एलिक अथानाजेले ६० र शेरफन रुथरफोर्डले ५१ रनको अर्धशतकीय इनिङ खेले पनि घरेलु टिमको हार टार्न सकेनन् । यस्तै, जेवेल एन्ड्रयुले २४, रोस्टन चेजले १५ र गुडाकेस मातीले १० रन थपे ।

पाकिस्तानका हसन अली, मोहम्मद नवाज, फहिम अर्शफ, सैम अयुब र सफियान माकिमले समान एक–एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धातिर २० ओभरमा चार विकेट गुमाएर १८९ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानका ओपनर सहिबजादा फरहान र सैब अयुबले क्रमशः ७४ र ६६ रन बनाएका थिए । यसबाहेक, हसन नवाजले १५, खुशदील साहले ११ र फहिम अर्शफले १० रन थपे । 

वेस्ट इन्डिजका जासन होल्डर, रोस्टन चेज र समर जोसेफले समान एक–एक विकेट लिए । 

जितसँगै पाकिस्तान तीन खेलको शृंखला २–१ ले जित्दै च्याम्पियन बनेको हो । पाकिस्तानले यसअघि पहिलो खेलमा १४ रनको जित निकालेको थियो । यी दुई टिमबीचको दोस्रो खेल भने वेस्ट इन्डिजले दुई विकेटले जितेको थियो । 

अब यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । शृंखला अगस्ट ८ देखि सुरु हुनेछ ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्